काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले विरोधीहरूलाई समेत खुसी पार्ने गरी बोल्ड निर्णय गरेका छन् ।
शिक्षक बन्ने, सरकारी कर्मचारी बन्ने र सँगै कुनै न कुनै ठुला राजनीतिक दलको सदस्य लिने गर्ने शिक्षकहरूका लागि बोल्ड कदम चालेका छन् ।
फुटपाथ हटाउन आफैँ फिल्डमा खटिएका उनले सो काममा पनि सफलता प्राप्त गरिरहेका बेलामा उनले महानगर अन्तर्गतका कर्मचारी र शिक्षकलाई तत्काल पार्टीको सदस्यता त्याग्न भनेका छन् ।
कर्मचारी र शिक्षकले पार्टीको सदस्य बन्न नपाउने कानुनलाई लिएर अदालतबाट भएका व्याख्या समेतलाई स्मरण गराउँदै उनले शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यता लिएको भए तत्काल त्याग्न भनेका छन् । उनले पार्टी सदस्यता दिने राजनीतिक दल, भातृसंगठन तथा शुभेच्छुक संस्थाहरूलाई पनि यस विषयमा सूचित गरेका छन् ।
कसैले दलको सदस्यता लिएको पाइएमा आफूलाई खबर गर्न पनि उनले इमेल ठेगाना उपलब्ध गराएका छन् । पार्टीको सदस्यता लिएका शिक्षक र कर्मचारीका लागी कठोर बन्ने स्पष्ट सङ्केत उनले दिएका छन् । बालेनले आफ्नो अफिसियल फेसबुक मार्फत पनि जानकारी गराएका छन् ।
उनले लेखेका छन्, ‘दलिय आबद्धता त्याग्न कर्मचारीलाई सूचित गरिएको सम्बन्धमा’
‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ । उक्त कानून कार्यान्वयन गर्नको लागि अजित भण्डारी विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत भएको (मुद्दा नं. ०७८–ध्इ–०४०८) मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७९।२।४ मा परमादेश समेत जारी भएको छ । काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको छ ।
उक्त कानूनी व्यवस्था तथा सम्मानीत उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु गराउनु काठमाडौं महानगरपालिकाको साथसाथै प्रत्येक राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्था तथा महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दायित्व हो । काठमाडौं महानगरपालिकाको कार्यक्षेत्र भित्र सुशासन प्रबद्र्धन गर्नको लागि महानगर अन्तर्गतका शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्य हुनु कानून सम्मत हुदैन ।
तसर्थ, काठमाडौं महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलिय आबद्धतासंग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थालाई हार्दिक अपिल गरिन्छ । साथै, राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्यको रुपमा राजनीतिक आवद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आवद्धता तत्काल त्याग गरी कानूनको परिपालना गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।’