५ भदौ, काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा सिराहाको लहानमा बिदा दिइएको छ । नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाभित्रका क्याम्पसहरू, शैक्षिक प्रतिस्ठानहरू र उद्योग बन्द रहने छन् ।
‘उहाँ हाम्रो प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो, त्यसैले नगर मातहमतमा रहेका कार्यालयमा शोक बिदा दिइएको छ’ मेयर चौधरीले भने, ‘उद्योगी व्यवसायीहरूले पनि बजार बन्द गर्ने निर्णय गर्नु भएको छ ।’
लहान गिरिको गृहनगर हो । उनले आफूलाई भेट्न आउनेहरूसँग आफ्नो अन्त्येष्टि जिल्लाकै बस्तीपुरमा गरिदिन आग्रहसमेत गरेका थिए ।
नेपाली कांग्रेसले पशुपतिमै उनको अन्तिम संस्कार गर्ने निर्णय गरेको छ ।
कांंग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम संस्कार आर्यघाटमा गर्ने सूचना पार्टी कार्यालयले वक्तव्यमार्फत दिएको छ । स्वयम् गिरिले आफूलाई भेट्न आउनेहरूसामु सिरहाको बस्तीपुरमा अन्त्येष्टि गराइदिन आग्रह गरेको थाहा भएको छ ।
४० वर्षदेखि गिरिसँग सान्निध्यमा रहेका कांग्रेस नेता रामपल्टन साहले पछिल्लो भेटमा पनि गिरिको सोही इच्छा रहेको बताए ।
गिरिसँग अझ पुरानो संगतमा रहेका कुमुदरन्जन बरालले भनेका छन्,’प्रदीप दाइले पाकैडको रुखलाई हातले देखाउँदै भन्नुभएको थियो, म मरेपछि मलाई यही रुख छेउ जलाउनू।’
पत्रकार किशोर नेपालले यसको पुष्टि गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘प्रदीप दाइ चाहनुहुन्थ्यो, उहाँको अन्तिम संस्कार राजधानीको तामझामबाट टाढा बस्तीपुरको शान्त बस्तीमा होस् । उहाँको यो इच्छा पूरा गर्न म सरकार र सम्बन्धितहरूसँग आग्रह गर्छु ।’