धरान – जनजनको मनमनमा बसेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । साम्पाङ पुरस्कृत भए पछि देशभरिका उनका समर्थकहरूमा झनै अर्को खुसीयाली छाएको छ ।
धरानको विकासका विभिन्न योजना बोकेर काठमाडौँ आएका बेला साम्पाङ पुरस्कृत भएका हुन् । एन एण्ड जे इन्टरटेनमेन्ट एन वाई इन्क अमेरिकाद्वारा साम्पाङलाई काठमाडौँमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका हुन्।
साम्पाङलाई नगद रू. २५ हजारको साथमा सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको हो।साम्पाङ स्व. अर्जुनप्रसाद प्रसाईंको नामबाट स्थापना गरिएको लोकप्रिय युवा नेता पुरस्कारबाट सम्मानित भएका हुन् ।
सापाङ्ले नेपाली समाज तथा धराने जनताको लागि केही उदाहरणीय तथा विकासमूलक कार्यका लागि अग्रभागमा रहेर जनप्रतिनिधिको रूपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोले उनलाई अझै अघि बढ्न हौसला स्वरुप उत्त सम्मानबाट सम्मानित गरिएको उल्लेख गरिएको छ।
सम्मानप्रत्र ग्रहण गर्दै मेयर साम्पाङले भनेका छन् “सबैलाई धन्यवाद दिदै मैले समान पाउने लाएक त्यस्तो काम गरे जस्तो लाग्दैन ,समाजले आज मलाई कसरी हेर्नु भएको अचम्म लाग्छ । फोटो खिच्न मान्छेहरु देख्छु बिहानै देखी इन्टरभ्यु लिन चाहनु हुन्छ ।
मैले खासमा त्यस्तो ठुलो केही काम गरेको छैन तर पनि यती धेरै माया प्राप्त भयो यो मेरो शौभाग्य ठान्नु पर्छ । सम्मान दिनु हुने संस्था र आयोजकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । मैले जुन कुरा धरानका जनतालाई दिन चाहेको छु त्यो पुरा होस् ।” साम्पाङले अगाडी भनेका छन् ।
सम्मान-पत्र दिंदै संस्थाकी संस्थापक कमला प्रसाईले प्रवासमा रहेर पनि देश प्रतीको माया र सदभाव पोख्न पाएकोमा आँफैलाई गौरव लागेको र मेयर साम्पाङ जस्ता ब्यक्तित्वलाई सम्मान गर्न पाएकोमा संस्थाको गरिमा बढेको बताउनु भयो ।
आफुलाई कुल्ली मेयर भन्ने गरेका साम्पाङको काठमाडौँमा समेत अचम्मको क्रेज देखिएको छ । हाल काठमाडौँमा रहेका उनको व्यस्तता धरानमा भन्दा बढि देखिएको छ । उपमहानगरको काम लिएर मन्त्रालयमा जाने देखी अरु भेटघाटहरुमा पनि उनी निकै व्यस्त रहेका छन् ।
साम्पाङले राष्ट्रिय आविष्कार केन्द्र पुगरे महाविर पुनसँग भेटघाट गरेका छन् । खुमलटार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेटेका छन् ।