काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नर्भिक अस्पतालले नक्सापास बिना बनाएका संरचना हटाउनका लागि अल्टिमेटम दिएका छन्। सोमबार २४ घन्टा भित्र संरचना हटाउन महानगरले निर्देशन दिएको थियो। सोही अनुसार मेयर बालेन्द्र आफैं नर्भिक पुगेका थिए।
नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् ।
महानगरपालिकाले नर्भिक इन्टरनेसनल अस्पतालका टहरा तत्काल नभत्काउने भएको छ । अस्पतालले नियमविपरीत बनाएका टहरा आजै भत्काउने तयारीबीच दुई पक्षबीच मौखिक सहमति भएको हो ।
नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घन्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए ।
सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले नेपाल सरकारको नाममा दर्ता रहेको जग्गा हस्पिटलले भाडामा लिई क्यान्टिन भवनलगायत सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले हटाउन लागेको जानकारी दिएका छन्।
नर्भिकले आफूले कानून अनुसार जग्गा भाडामा लिएको बताएको थियो । त्यसपछि अस्पताल र महानगरबीच अध्ययन समिति बनाउने र उसकै सिफारिस अनुसार अघि बढ्ने सहमति भएको छ । त्यसपछि मेयर बालेनसहितको टोली फर्केको छ ।
नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ । त्यो घर टहरामा अस्पतालको अक्सिजन भण्डारणसमेत छ ।
अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरले जनाएको छ ।
‘१० दिन, १५ दिन एक महिना कति लाग्छ समय दिनपर्यो,’ नर्भिकमा बालेन्द्रले भने, ‘अक्सिजन प्लान्ट झिक्दा प्यासेन्ट लाई गाह्रो हुन्छ भन्ने कुरा अस्पतालबाट भयो।’ सबैलाई एउटै कानुन हुनपर्ने भन्दै बालेन्द्रले अस्पताल प्रशासनका प्रमुखलाई संरचनाबारे चासो राखेका थिए।