काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आगामी प्रतिनिधिसभाको निर्वाचन पश्चात् प्रधानमन्त्री बन्न भन्दै हल्ला गर्दै हिँडेका छन् । उनी प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएर आउन पर्छ । उनलाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि प्रतिनिधिसभा निर्वाचनमै हराउने खेल सुरु भएको छ ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट थापा २ पटक निर्वाचित भइसकेका छन् । त्यही क्षेत्रका स्थानीयवासी यति बेला उनी विरुद्ध रुष्ट छन् । रुष्ट मात्र हैन, घोषणा भई नसकेको आगामी प्रतिनिधिसभा निर्वाचनका लागि थापाविरुद्ध एक जना युवाले त स्वतन्त्र उम्मेदवारीसमेत घोषणा गरेका छन् ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर–१०, कपन मिलन चोकका बासिन्दा सांसद थापासँग मात्र नभई स्थानीय जनप्रतिनिधिसँग पनि उत्तिकै आक्रोशित छन् । यसको कारण बनेको छ त्यहाँको अव्यवस्थित ढल र सडक ।
अघिल्लो वर्ष वर्षातका बेला बाटोमा ढलको मुख (मङ्गल)मा परेर बेपत्ता भएका एक जना स्कूले बालक बागमती खोलामा मृत भेटिएका थिए । यो बाहेक हरेक वर्ष वर्षा याममा कपन मिलन चोक खहरे क्षेत्रमा सानातिना घटना भइरहने गरेको छ । बौद्ध, गोकर्ण–जगडोलदेखि जाने ढल र बाढीले त्यहाँको सडक खोलामा परिणत हुने र बाढीले बाटोमा हिँडिरहेको मोटरसाइकलदेखि सडकछेउका पसलका सामग्रीसमेत बगाउने गर्छ ।
यहाँको सडकको अवस्था यस्तो छ कि मान्छे हिँड्ने वा सवारी गुड्ने बाटो हो वा खोलाको बगर भन्ने छुट्टाउन कठिन पर्छ । वर्षा याममा हरेक वर्ष स्थानीयले हैरानी पाउने गरेका छन् । त्यही हैरानीलाई पार लगाउन भन्दै गगन थापाविरुद्ध रोशन बर्माले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
उनले आफ्नो सन्देश गगन थापा सम्म पुर्याइदिन आग्रह गर्दै भने, ‘म आफै यो क्षेत्रबाट उम्मेदवारी दिँदै छु । दुई दुई पटक गगन थापा उम्मेदवार हुनुभयो, उहाँको आँखाले यो (सडक) देखेन । उहाँले पद, क्रिश्चियानिटी, एमसीसीबाहेक केही पनि देख्नुभएन । असलियत के छ हेर्नु, यो उहाँको आफ्नै निर्वाचन क्षेत्र । दिनको ३ चोटि हिँड्ने यो बाटो यो देखाउनुपर्छ उहाँलाई । अब उहाँलाई नदोहोर्याउन म आफैले उम्मेदवारी दिनुको कारण यो समस्या पनि हो । हेर्नुहोस् आजको कपन २० वर्षदेखि यस्तो छ यो । मेरो नाम रोशन बर्मा, यो क्षेत्रबाट पहिलो स्वतन्त्र उम्मेदवार घोषणा गर्ने व्यक्ति म हुँ ।’
वर्षौँदेखि ढल–पानीको निकास नहुनुका साथै व्यवस्थित बाटो नभएका कारण स्थानीयले सास्ती भोग्दै आएका छन् । उनीहरूले सरकार, सांसद, र स्थानीय जनप्रतिनिधि जिम्मेवार नभएको गुनासो गरिरहेका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ का सांसद गगन थापा यो विषयमा गम्भीर नभएको उनीहरूको गुनासो छ । मिलन चोक खहरेमा कपडा पसल सञ्चालन गर्दै आएका दिपबहादुर कटुवालले पटक पटक चुनाव जिते पनि काम नगरेको गुनासो गरे ।