काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा ज्योतिष शास्त्रमा धेरै विश्वास गर्छ । ज्योतिषले भनेअनुसार सबै कुरा मिल्दै गएपछि उनलाई आफ्ना ज्योतिषलाई विश्वास गरेका हुन् ।
देउवाले आफ्ना ज्योतिषले भनेकै मितिमा चुनाव गराउँने गरी गठबन्धनका अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको साथ खोजेका छन् । देउवाले बुधबार अध्यक्ष प्रचण्डलाई फोन गरेर उक्त मिति बारे जानकारी गराएका छन् ।
देउवाका ज्योतिषले मंसिर ४ गते निर्वाचन गर्न उत्तम साइत रहेको बताएका थिए । देउवाले प्रचण्डलाई त्यही कुरा सुनाएर मिति घोषणा गर्न लागेको बताएपछि प्रचण्डले रोकेका छन् ।
संसदीय चुनावको मिति घोषणा गर्न लागेको भन्दै देउवाले प्रचण्डको समर्थन खोजेका थिए । बिहीबार माओवादीनिकट प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगलु)सहितका व्यक्तिहरुसँग प्रचण्डले यसबारे बताएका हुन्।
देउवाले फोन गरेर चुनावको मिति घोषणा गर्न लागेको बताउँदै आफ्नो साथ खोजेको प्रचण्डले बताए। तर आफूले केही दिन मिति घोषणामा नहतारिन भनेको प्रचण्डले बताए।
प्रेस सेन्टरका नेताहरुलाई खुमलटारमा आधा घण्टा समय दिएका प्रचण्डले देउवासँगको फोन संवाद सुनाएका हुन्। ‘म क्याबिनेट बैठकबाट चुनावको मिति घोषणा गर्दैछु, समर्थन दिनुस्, मलाई देउवाले फोनमा हिजो भन्नुभयो,’ प्रचण्डले भने, ‘मैले भनेँ केही दिन पर्खिनुस् त।’
आफूले नागरिकता विधेयक र सत्य निरुपण तथा वेपत्ता नागरिक खोजबिनका लागि बनेको विधेयक पारित नगरी चुनाव घोषणा नगर्न सुझाव दिएको प्रचण्डको भनाइ थियो।
‘कम्तीमा नागरिकता विधेयक र सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिक खोजबिसम्बन्धी विधेयक संसदबाट पास गरेर मात्र चुनावको मिति घोषणा गर्नुहोला,’ प्रचण्डले प्रधानमन्त्री देउवालाई दिएको सुझाव उधृत गर्दै भने, अब हेर्नुहोला केही दिनमै चुनावको मिति घोषणा हुन्छ।’
बाहिर चुनाव सार्न अनेक चाल चालेको भनेर हल्ला भइरहेको छ। यसमा सत्यता नभएको प्रचण्डले दाबी गरे।‘बाहिर अनेक खालका हल्ला चलेका छन, यसमा सत्यता छैन, केही दिनमा चुनावको मिति घोषणा हुन्छ र मंसिर ४ मै चुनाव हुन्छ,’ प्रेस सेन्टरका नेतासँग प्रचण्डले ठोकुवा गरे।
प्रचण्डले माओवादीलाई यसपटकको चुनावमा हार्ने छुट नभएको भन्दै सबै तयारी गर्न निर्देशन दिएका छन् ।यसैबीच चुनावको मिति घोषणा लगायतका विषयमा छलफल गर्न अहिले सत्ता गठबन्धनको बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावको मिति, गठबन्धन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।प्रचण्ड दिल्ली भ्रमण गरेर फर्केपछि ३ साउनमा गठबन्धनको बैठक बसेको थियो। त्यसको १० दिनपछि आज बैठक बस्दैछ।