काठमाडौँ – निर्वाचन आयोगले नेकपा एमालेल स्थानीय तहको निर्वाचनमा दोश्रो भएको प्रतिवेदन सार्वजनिक गरेको छ । स्थानीय निर्वाचन (२०७९) मा नेपाली काँग्रेस पहिलो र नेकपा एमाले दोश्रो भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
आयोगको प्रतिवेदन अनुसार कांग्रेसले नेकपा एमालेभन्दा करिब डेढ लाख बढी मत पाएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेस लोकप्रिय मतमा पहिलो भएको तथ्यांक सुनाएको हो ।
काँग्रेसले ३९ लाख ५६ हजार १९३ मत पाएको आयोगले जनाएको छ । यस्तै एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ । आयोगका अनुसार काँग्रेसले ३४.२८ र एमालेले ३३.०३ प्रतिशत मत पाएका छन् ।
एमालेभन्दा काँग्रेसले एक लाख ४४ हजार ५९१ मत बढी ल्याएको आयोगको विवरणमा उल्लेख छ । आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २४७ मत पाएको छ ।
जनता समाजवादी पार्टीले पाँच लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत पाएको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले २ लाख ४४ हजार ८८२ मत पाउँदा जनमत पार्टीले १ लाख १५ हजार ३५ मत पाएको छ ।
यस्तै देशभरको स्वतन्त्र उम्मेदवारले ३ लाख १२ हजार ६४५ मत ल्याएका थिए । आयोगले वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा दलहरुको लोकप्रिय मतको गणना गरेको हो । आयोगले एमालेलाई कमजोर देखाउन वडाध्यक्षको मतलाई आधार मानेर कांग्रेस पहिलो भएको विवरण तयार पारेको एमालेको आरोप छ ।
नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्षको मतको आधारमा नेकपा एमाले अगाडी देखिएको थियो । तर आयोगले वडाध्यक्षको मतलाई आधार मान्दा एमाले दोश्रो शक्ति बनेको हो । यो विषयले एमालेहरुलाई सुन्दै रिस उठेको छ ।