काठमाडौं– जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग ‘घुस डिल’ प्रकरणमा मुछिएका कानुन व्यवसायी अधिवक्ता रुद्रप्रसाद पोखरेलले दिउसै रात पारेका छन् । कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) मा पेस गरेको जवाफमा झुट बाेलेर पाेखरेलले दिउसै रात पारेका हुन् ।
‘घुस डिल’ प्रकरणको अनुसन्धानका क्रममा ‘सम्पर्कविहीन’ भएका पोखरेलले आफूविरुद्ध सार्वजनिक सूचना प्रकाशित भएपछि बार काउन्सिलमा लिखित जवाफ पेस गरेका हुन्।
काउन्सिलमा लिखित जवाफ पेस गर्दै पोखरेलले उक्त अडियोको आवाज आफ्नो नरहेको दाबी गरेका छन्। ठगी मुद्दाका अभियुक्त इच्छाराज तामाङका कानुन व्यवसायीमध्ये १ जना आफूपनि भएको पोखरेलले स्वीकारेका छन्। तर, मुद्दाको सन्दर्भमा कुनै पनि न्यायाधीशसँग आफूले कुरा नगरेको उनले लिखित जवाफमा जिकिर गरेका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालासँग भएको भनिएको टेलिफोन कुराकानीको अडियो आफ्नोजस्तै लाग्ने अरु कसैको आवाज रहेको पनि पोखरेलले लिखित जवाफमा उल्लेख गरेका छन्। ‘अडियोमा सुनिएको आवाज मेरो आवाजजस्तै छ, तर मेरो होइन भन्ने उहाँको जवाफ छ,’ बार काउन्सिल स्रोतले नेपाल लाइभसँग भन्यो।
अहिलेको डिजिटल प्रविधिको समयमा आफूलाई फसाउने नियत राखेर अरु कसैले यस्तो अडियो बनाएको अनि सार्वजनिक सञ्चार माध्यमलाई दिएको पनि पोखरेलले आरोप लगाएका छन्। आफूले यस्तो कार्य कहिल्यै पनि नगर्ने र कानुन व्यवसायीको आचारसंहिता र कानुन पालना गरेर हालसम्म पेसा व्यवसाय गर्दै आएकोमा षडयन्त्रपूर्वक यस्तो अडियो सार्वजनिक गरिएको उनले दाबी गरेका छन्। उनले अडियोमा रहेको आवाज विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न सकिने पनि जवाफमा उल्लेख गरेका छन्।
आफू संलग्न नै नभएको प्रकरणमा नाम आउनु आफ्ना लागि दु:खद र नियोजित भएको पोखरेलको भनाइ छ। आफू नेपाल बारको जिम्मेबार पदमा रहिसकेको व्यक्ति भएको र आफ्ना ‘शत्रुहरु’ले यस्तो कार्य गरेको पोखरेलको आरोप छ।
अनुसन्धानका क्रमम काउन्सिलले पठाएको पत्र आफूले प्राप्त नै नगरेको पनि पोखरेलले लिखित जवाफमा उल्लेख गरेका छन्। आफ्नो ठेगानामा पत्र नै नआएको र सार्वजनिक सञ्चार माध्यमबाट मात्रै सुनेको पोखरेलको दाबी छ।
यसअघि काउन्सिलले उनको घरठेगानामा पत्र पठाएकोमा पोखरेल सम्पर्कविहीन भएका थिए। तर, लिखित जवाफमा भने आफू सशरीर उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन्।
काउन्सिलले उनलाई सम्पर्क गर्न नसकेपछि हुलाकबाट समेत पत्र पठाएको थियो। तर, ती पत्रहरु सम्बन्धित व्यक्ति (पोखरेल)ले नबुझेपछि काउन्सिलमा नै फिर्ता आएको थियो।
त्यसपछि काउन्सिलले गोरखापत्रमा सूचना प्रकाशित गर्दै उनको नाममा ७ दिने म्याद जारी गरेको थियो। न्यायाधीश कोइरालासँगको ‘घुस डिल’ प्रकरणको अडियो बाहिरिएपछि बार काउन्सिलको असार ९ गते बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
तर, उनी आफ्नो ल फर्मसमेत बन्द गरेर सम्पर्कविहीन भएका थिए ।
१ हप्ताभित्र लिखित जवाफ पेस गर्ने म्यादसहित बार काउन्सिलले साउन ३ गते पोखरेलका नाममा सार्वजनिक सूचना जारी गरेको थियो। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत विदुर सापकोटाले शुक्रबार उनको जवाफ काउन्सिलमा दर्ता र अध्ययनकै क्रममा रहेको बताए।
सार्वजनिक सूचना जारी भएको ३ दिनपछि उनले लिखित रुपमा जवाफ पेस गर्दै आफूविरुद्ध लागेको आरोप अस्वीकार गरेका छन्।
नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष समेत रहेका पोखरेलले सहकारीका निक्षेपकर्ताको रकम ठगी गरेको अभियोग लागेका व्यापारी इच्छाराज तामाङलाई छुटाउन जिल्ला अदालत काठमाडौंका न्यायाधीशलाई ‘घुस अफर’ गरेको अडियो सार्वजनिक भएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले तामाङविरुद्ध ६ अर्बभन्दा बढी बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दाको थुनछेक बहस चलिरहँदा कानुन व्यवसायी पोखरेलले न्यायाधीश कोइरालालाई ‘घुस अफर’ गरेका थिए।
कोइराला र पोखरेलबीच टेलिफोनमा भएको कुराकानीको अडियोमा तामाङ १० करोड धरौटीमा रिहा हुने आदेश जारी गर्न पोखरेलले कोइरालाई अफर गरिरहेका सुनिन्छ। जसबापत २ करोड रुपैयाँ ‘घुस’ पाइने पोखरेलको अफर हुन्छ। सुरुमा घुस खाएर आदेश जारी गर्न डराइरहेका कोइराला पछि पोखरेलले प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर राणाको तहबाटै सबै कुरा मिलाइसकेको बताएपछि तयार भएको सुनिन्छन्।
उक्त अडियो बाहिरिएपछि बार काउन्सिलले उनीविरुद्ध अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानको प्रक्रियामा ‘असहयोग’ गरेपछि काउन्सिलले उनीविरुद्ध सार्वजनिक सूचना जारी गर्दै ‘तपाईंलाई किन कारबाही गर्नु नपर्ने हो?’ भन्ने सन्दर्भमा जवाफ पेस गर्न भनेको थियो।
पोखरेलको लिखित जवाफ प्राप्त भएपछि काउन्सिलको अनुशासन समितिको बैठक बस्ने तयारी गरिएको छ। अनुशासन समितिको अध्यक्ष महान्यायाधिवक्ता खम्मबहादुर खाती छन्। सदस्यहरूमा वरिष्ठ अधिवक्ताद्वय चण्डेश्वर श्रेष्ठ र रजितभक्त प्रधानांग छन्। बारका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले शुक्रबार काउन्सिलको वैठक बस्ने अनि जवाफमाथि छलफल हुने बताए। जवाफ हेरेर आवश्यक निर्णय हुने श्रेष्ठको भनाइ छ।