काठमाडौँ । शिक्षा क्षेत्रको अग्रणी कलेज टेक्सस इन्टरनेशनल कलेजले पहिलो पटक रोवोटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिवार कलेजको प्राङ्गण, मित्रपार्कमा जिविएस टिमसंगको सहकार्यमा रोवोटिक्स प्रतियोगिता आयोजना गर्ने भएको हो ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाइको छ ।

प्रतियोगितामा १५ टिमको सहभागिता रहनेछ । ८ टिम काठमाडौँबाट र बाकी टिम भारतसहित उपत्यका बाहिरबाट सहभागी हुन आउने छन् ।
प्राविधिक क्षमता र रोबोटिक्सका बारेमा ज्ञान तथा अनुभव आदान प्रदानका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको टेक्सस इन्टरनेशनल स्कुलका फाउन्डर, प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।

श्रेष्ठ भन्छन्, ‘आइटी, इन्जिनेरिङ्ग अध्ययनरत विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी गराइनेछ । प्रतियोगीहरूका लागि सिकाइको उत्कृष्ट माध्यम बन्नुको साथै नवीन सोचको विकास हुनेछ । प्रतियोगिता भव्य रूपमा सम्पन्न हुने विश्वास लिएका छौँ । अवलोकनका लागि इच्छुक व्यक्तिहरू आउन सक्नु हुनेछ । शनिवार दिनभर नै प्रतियोगिता एवं रोवोटिक्स प्रदर्शनी रहनेछ ।’

प्रतियोगितामा विजेता हुने प्रथम, द्वितीय टिमलाई क्रमशः नगद २५ हजार रुपैयाँ, १० हजार रुपैयाँसहित ट्रफी, प्रमाण–पत्रद्वारा पुरस्कृत गरिनेछ । सहभागी हुने टिमलाई प्रमाण–पत्र प्रदान गरिने छ ।