काठमाडौँ – विद्यार्थीहरूको पहिलो रोजाइमा पर्ने चाबहिल, मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशनल कलेजले यस वर्षको ‘टेक्सस साइन्स एण्ड आइटी एक्स्पो–२०७९’ आजबाट सुरु गरेको छ । कोरोना कहरको समयभन्दा बाहेकका वर्षहरूमा प्रत्येक वर्ष आयोजना हुँदै आएको साइन्स एण्ड आइटी एक्स्पो आजबाट सुरु भएको हो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विमल कुमार होडाले एक्स्पोको उद्घाटन गरे । वडाध्यक्षसहित आमन्त्रण गरिएका वडा सदस्य, अतिथि लगायतले एक्पोमा रहेका ४० वटा स्टलमा अवलोकन समेत गरे । प्रदर्शनी सञ्चालन गरी रहेका विद्यार्थीहरूले आफ्नो स्टलमा रहेका सामाग्री, प्रयोगका विषयमा अवलोकनकर्ता अतिथिहरूलाई स्पष्ट पारेका थिए ।

एक्स्पो मार्फत विद्यार्थीहरूले आफूमा निहित क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरमा प्राप्त गर्ने भएका कारण प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ‘टेक्सस साइन्स एण्ड आइटी एक्स्पो’ आयोजना गरिएको टेक्सस इन्टरनेशनल स्कूलका फाउन्डर, प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले केटिएम खबरलाई बताए । उनले भने, ‘विद्यार्थीहरूको छोटो समयको तयारी मै एक्स्पो आयोजना गर्न सफल भएका छौँ । टेक्ससका स्कूल, प्लस टु र ब्याचलर तहमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न विधामा एक्स्पो स्टल राखेका छन् । ४० वटा प्रदर्शनी स्टल राखिएको छ । जसमा साइन्स, आइटी, डाटा, खाने कुरा, स्वास्थ्य सामाग्री लगायतका विधामा स्टल राखिएको छ । एक्स्पो भव्य बनाउन विद्यार्थीहरूले भरपुर मेहनत गरिरहनु भएको छ । आशा छ यस वर्षको एक्स्पो पनि भव्य रूपमा सम्पन्न हुनेछ ।’

भोलिसम्म हुने एक्स्पोमा विभिन्न १५ वटा स्कूलबाट विद्याथीहरुले अवलोकन गर्न आउने कार्यक्रम रहेको छ ।
यस्तै, यस वर्ष एसइई परीक्षा दिएका एक हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने आकलन रहेको छ ।

बिहान १० बजेबाट सुरु भएको प्रदर्शनी कार्यक्रम बेलुकासम्म चल्ने छ । भने इच्छुक जो कोही विद्यार्थीहरूले पनि भिजिट गर्न सक्नुहुनेछ ।





























तस्विरः केटिएम खबर