कांग्रेसका उपसभापति धनराज गुरूङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताएका छन्। बजेट बनाउँदा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिहरू प्रवेश गराई करका दर चलाएको आरोप छ।
उपसभापति गुरूङले यसबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने पनि बताएका छन्। उनले छानबिन समितिलाई सहयोग गर्नका लागि अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए।
राजीनामा नदिए बर्खास्त गरिनुपर्ने उनी बताउँछन्। अहिले देखिएका बिबाद समाधानका लागि छानबिन समिति गठन, अर्थमन्त्रीको राजीनामा वा बर्खास्त भएको उनले बताए।
कांग्रेसका अर्का उपसभापति पूर्णबहादुर खड्काले पनि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।
अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासो देखिएको भन्दै खड्काले संसदीय छानबिन समिति बनाउन ढिला नगर्न आग्रह गरेका छन्।
उनले आजै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।
‘बजेट निर्माणका बेलाका विषयसमेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ,’ खड्काले भने।