शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

किर्ते प्रकरणमा दोषी पाईएपछि एमाले सांसदले दिइन् राजीनामा


  • बिहिबार, असार १६ २०७९
11.6K
SHARES

फाईल तस्बिर

प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले पदबाट राजीनामा दिएकी छन्। उनले सरकारी छाप, दस्तखत र कागजात किर्ते गरेको अभियोग प्रमाणित भएको लामो समयपछि राजिनामा दिएकी हुन् ।

बुधबार पदबाट राजीनामा दिएकी खातुनको राजीनामा सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार स्वीकृत गरेका हुन्। मोरङबाट प्रतिनिधित्व गर्ने खातुनको मुद्दा दोहोर्‍याउने आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको अर्को साता उनले राजीनामा दिएकी हुन्।

अघिल्लो साता मात्रै सर्वोच्च अदालतले खातुनविरूद्धको सरकारी सही छाप र दस्तखत कीर्ते मुद्दा दोहोर्‍याउन अनुमति दिन अस्वीकार गरेको थियो।

सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि खातुनले सर्वोच्चमा मुद्दा दोहोर्‍याउन माग गरेकी थिइन्।

तत्कालीन कदमाह गाउँ विकास समितिमा रहेको ३ विगाहा १० कट्ठा जग्गाको मोही पाउन खातुनले २०७१ चैतमा गाविस सचिवको सिफारिस आफैंले गरेको र एकै दर्ता नम्बरका दुई वटा सिफारिस गरेको भन्दै किर्ते मुद्दा परेको थियो।

मोरङ जिल्ला अदालतले उनलाई २०७६ वैशाख ३१ गते दोषी प्रमाणित गर्दै एक वर्ष कैद सजायको आदेश दिएको थियो। अदालतको आदेश लगत्तै फरार रहेकी उनले जिल्लाको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी थिइन्।

विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते उनको बारेमा फैसला सुनाउँदै सजाय थपेको थियो। उनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरीवानाको फैसला भएको थियो।

उच्चको फैसलाप्रति पनि असन्तोष जनाउँदै सांसद खातुनले २०७६ फागुन ११ मा उनले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्। आफ्नो मुद्दामा त्रुटिपूर्ण फैसला भएको भन्दै सर्वोच्च गएकी उनले मुद्दा दोहोर्‍याउन माग गरेकी थिइन्। तर, गएको जेठ २५ मा सर्वोच्चले मुद्दा दोहोर्‍याउने आदेश दिनु नपर्ने फैसला गरेपछि उनको पद धरापमा परेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा