१६ असार, काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले महानगरपालिका भित्रका निजी विद्यालयहरूले लिँदै आएको शुल्क घटाउने तयारी थालेका छन् । मेयर शाहले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा काठमाडौँका निजी विद्यालयको शुल्कमा कडाइ गर्ने उल्लेख गरेका थिए । त्यही नीतिलाई कार्यान्वयन गर्नका लागि आन्तरिक गृहकार्य थालेका हुन् ।
उनको यो कार्यप्रति काठमाडौँभित्रका निजी विद्यालयहरूले भने आपत्ति जनाएका छन् । निजी विद्यालयहरूको छाता सङ्गठन नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले मेयर बालेनले निजी विद्यालयहरूको बारेमा जानकारी नपाएकाले हचुवाका भरमा नीति तथा कार्यक्रममा शुल्कको विषय समावेश गरेको बताए ।
‘हामीले शैक्षिक सत्र सुरु हुन पूर्व तीन महिना अगाडी नै शिक्षा नियमावली अनुसार विद्यालयका छाता सङ्गठनहरूले सबै विद्यालयको शुल्क निर्धारण विवरण स्थानीय तह लगायत सम्बन्धित ठाउँमा पेस गरेका छौँ। शुल्कका लागि नियमावलीले प्रस्ट पारेको छ।’, हमालले भने, ‘क, ख, ग, घ, श्रेणीमा विभाजन गरी त्यही अनुसार नियमावलीमा कति शुल्क लिने भन्ने किटान गरेको छ । त्यसैले यो उहाँहरूको सुझाव हुन सक्ला तर, कार्यान्वयनको पक्षमा राम्रो होइन।’
‘निजी विद्यालयको छाता सङ्गठन एनप्याब्सन र प्याब्सन छ। हामीकहाँ देशभर ३५ सय विद्यालय छन्। यो मुलुकमा विभिन्न समुदाय, संस्था, कूटनीतिक आयोगले विद्यालय सञ्चालन गरेका छन्। सरकारले अनुमति दिएको छ। ती स्कुल फरक–फरक प्रकृतिका छन्। तर,हाम्रो भने यहीको विशुद्ध नागरिक पढ्ने, मुलुकमै स्वरोजगार बनाउन आफ्नै पैतृक सम्पत्ति लगानी गरेर विद्यालय खोलेका हौँ। हाम्रो राज्यमा योगदान छ। न्यून शुल्क कायम गरेका छौँ।’ उनले अगाडी भने ।
हमालले तीन वर्षदेखि शुल्क नबढाएको स्पष्ट पारे । ‘घरबेटीले बर्सेनि १० प्रतिशतले भाडा बढाउँछ। यो हिसाबले त हामीले तीन वर्षमा ३० प्रतिशत शुल्क बढाउनुपर्ने हो। तर,बढाएनौँ। महँगी बढेकोले केही विद्यालयले शुल्क बढाएको हुन सक्ला।’ उनले भने, ‘बरु अरू निकायले चलाएका विद्यालयको शुल्कमा सीमा छैन। डेढ दुई लाखसम्म शुल्क लिएका छन्। त्यसमा अनुगमन राज्यले नगर्ने तर, हाम्रोमा अनावश्यक नियमन गर्न खोजिएको छ। यो हामीलाई मान्य छैन।’