नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रवि लामिछानेलाई नेपाली कांग्रेसमा प्रवेश गराउन निकै जोड बल गरेका थिए तर उनको प्रयास असफल भएको छ । लामिछानेले आफैँ अध्यक्ष बनेर नयाँ पार्टी घोषणा गरे पछि थापाले यस विषयमा मुख खोलेका छन् ।
रवि लामिछानेले नयाँ पार्टी घोषणा गरे पछि कांग्रेस महामन्त्री थापाले अब कसैको पनि भोट बैैँक बाँकी नरहेको प्रतिक्रिया दिएका छन् । नयाँ पुस्ताहरूको राजनीतिमा आकर्षण बढेको भन्दै थापाले अब पुराना पार्टीहरूले आफ्नो भोट बैङ्क भनेर हिसाब गरेको क्षेत्र काम नलाग्ने बताए ।
रविले पार्टी खोल्नु राम्रो भएको भन्दै थापाले रवि, बालेन लगायतको आगमनले राजनीतिलाई नयाँ कोर्स दिन खोजेको बताए । लामिछानेको राजनीतिक यात्रालाई थापाले सकारात्मक भनेका छन्।
मङ्गलवार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। राजनीतिमा लाग्ने नयाँ पुस्तालाई पुराना दलमै अवसर दिनुपर्नेमा पनि उनले जोड दिए।
उनले रविसहितको राजनीतिक यात्राले पुराना दल र नेताहरूलाई अझै तिखारिने अवसर दिएको बताए। ‘हामीले आफूलाई अझै थप निखार्न जरुरी छ’, उनले बालेन शाहको जितबारे पनि भने, ‘केही साथीहरूले स्वतन्त्र रूपमा स्थानीय तह जित्नु भएको छ। केही प्रदेश र प्रतिनिधिसभामा आउन खोजिरहनु भएको छ।’
स्वतन्त्र र नयाँ पुस्ताका कारण अब ठुला दलको भोट बैङ्क सुरक्षित नरहेको थापाले बताए। ‘अब ठुला दलहरूका भोट बैङ्क भएका र जितेका ठाउँ सुरक्षित छैनन्’, उनले भने, ‘ठुला र पुराना दलहरूले नयाँ पुस्तालाई जतिसक्दो स्पेस दिएर आफूलाई सुधार्न सक्नुपर्छ।’
‘पुराना दलहरूका तर्फबाट हामीले गर्नुपर्ने कुरा भने नयाँ नयाँ आकाङ्क्षा भएका साथीहरूलाई अवसर दिनुपर्छ’, उनले भने, ‘दलभित्रै छिर्न डर लाग्ने अवस्थाको अन्त्य गरिनुपर्छ।’
उनले नयाँ र उत्साही युवाहरूलाई तल्लो तहबाट होइन, बिचबाटै पनि अघि बढाउनुपर्नेमा जोड दिए।‘पार्टीभित्र तल्लो खुड्किलाबाट होइन, बिच बाटैबाट पनि उनीहरूलाई अघि बढ्न पाउनुपर्छ भन्ने अभियानमा छौँ’, उनले भने, ‘पार्टीको सदस्यता प्रणालीले नै फेर्न लागिरहेका छौँ। यसलाई जति छिटो बदल्न सक्यो हामीलाई त्यति सहज हुन्छ।’
लामिछानेलाई कांग्रेस प्रवेश गराउनका लागी थापाले पटक पटक गोप्य भेट गरेको समाचार केही सञ्चार माध्यमले प्रकाशित गरेको थियो । थापाले पछिल्ला दिनमा क्षमता भएका मानिसलाई बिचै बाट पनि राम्रो मौका दिएर पार्टीमा स्पेस दिनु पर्ने धारणा राख्दै आएका छन् ।
गगन थापाकै क्षेत्रबाट पनि आज मात्रै युवा इन्जिनियर आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचनमा स्वतन्त्रहरूले कमाल गरे पछि यसको साइड इफेक्ट प्रतिनिधिसभाको निर्वाचनमा देखिएको छ । विशेष गरी काठमाडौँलाई लक्षित गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ ।