नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जित्दै आएको काठमाडौँ क्षेत्र नम्बर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले राम्रो नतिजा हात पार्न सफल भए पछि प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने लहर चलेको छ । काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन पनि इन्जिनियर थिए भने आकर्षण पनि इन्जिनियर हुन् ।
राजनीतिमा नयाँ पुस्ता आउँँनु पर्छ भन्ने गरेका काँग्रेस महामन्त्री गगन थापाले केही दिन अघि मात्रै एक टेलिभिजन अन्तरवार्तामा बालेनको उदयले आफूहरूलाई प्रेसर फिल भइरहेको बताएका थिए । बालेनसँग धेरै कुरा मेल खाने युवा इन्जिनियरले उनको क्षेत्रमा उम्मेदवारी घोषणा गरे पछि यसले पनि गगनको प्रेसर बढाएको हुनपर्छ ।
काठमाडौँ ४ बाट उम्मेदवारी घोषणा गरेका आकर्षणको समर्थनमा सेलिब्रेटीहरु पनि देखिएका छन् । नायक आर्यन सिग्देलले पोखरेलको उम्मेदवारी घोषणा सभामा नै पुगेर ऐक्यबद्धता जनाएका छन् । युवा पुस्ता राजनीतिमा आउनु पर्छ भन्दै आकर्षणलाई आफ्नो समर्थन रहेको सिग्देलले भनेका छन् ।
क्षेत्र नम्बर ४ अन्तर्गत कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । यो क्षेत्रमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जित्दै आएका छन् ।
पोखरेलले आफ्नो तीन चरणको घरदैलोमध्ये पहिलो घरदैलो कार्यक्रम आजैबाट सुरु भएको बताए ।उनले पहिलो घरदैलोमा समस्या के हो भने घरघरमा गएर बुझ्ने बताए ।
ती समस्याहरूको बारेमा आफ्नो विज्ञ समूहले अध्ययन गरेर दोस्रो चरणमा समाधानका उपाय ल्याउने र तेस्रो चरणमा मत माग्न घरघरमा आउने उनले बताए ।आफूसँग विकासको एजेन्डा रहेको भन्दै पाँच बुँदे सूत्र सुनाए । पोखरेलले आफू कसैलाई गाली गरेर नेता बन्न नचाहेको तर विकास गर्न सक्ने योजना रहेको बताए ।
विकास गर्नका लागि भनेर हुने र गरेर हुने दुई प्रकारका एजेन्डा रहेको भन्दै उनले बालेन शाहले भनेकै भरमा सार्वजनिक शौचालय उपलब्ध भएको बताए । उनले पर्खनु विकल्प हुँदै होइन भन्ने नारालाई अघि सारेका छन् ।
पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणामा उपस्थित भएका अभिनेता आर्यन सिग्देलले परिवर्तनका लागि युवालाई अघि सार्नुपर्ने भएकाले इन्जिनियर पोखरेललाई आफ्नो समर्थन रहेको बताए ।
आफूले योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक गरी पाँच वटा कुरालाई आधार मानेर चुनावमा होमिएकाले आफूले राजनीतिमा जित्ने उनको विश्वास छ । ‘मैले पाँच वटा कुरालाई आफ्नो आधार मानेर अगाडि बढ्ने प्रण गरेको छु,’ उनले भने, ‘मैले मात्र होइन जुनसुकै उम्मेदवारले पनि योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक, यी पाँच चिजको प्रयोग गर्ने हो भने आज जति पनि समस्या तपाईंहामीले भोगिरहेका छौँ, यी समस्या भोग्न पर्दैन ।’