शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

आफ्नै पार्टीभित्रका केही चिप्ले ‘चोरहरू’ प्रेम आलेले चलखेल गर्‍यो भन्दैछन् : मन्त्री आले


  • मंगलबार, जेष्ठ २४ २०७९
16.1K
SHARES

फाइल तस्विर

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार आलेले आफ्नै पार्टीका केही नेताहरूले आफूलाई बदनाम गर्न लागिपरेको आरोप लगाएका छन्।

पशुपति क्षेत्र विकास कोषले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चिप्ले चोरको संज्ञा दिँदै आफूलाई अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको आरोप लगाए।

मन्त्री आलेले आफूहरू ६ महिनाका लागि मन्त्री बनेको स्मरण गर्दै यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बसिसकेको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने बताए।

‘मन्त्रिमण्डल निर्माण गर्दा नै ६ महिनाका लागि हामीलाई तोकिएको थियो। तर अहिले आठ महिना भइसक्यो। दुई महिना त हामीले ग्रेस मार्क पाइसक्यौं। मैले मेरो पार्टीका आदरणीय नेता माधवकुमार नेपाललाई त्यति बेलै भनेको थिएँ अरू साथीहरूलाई मौका दिने इच्छा छ भने दिनुस्, म खुसी छु,’ उनले अगाडि भने, ‘तर, हाम्रै पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले किराहरू आलेले धेरै चलखेल गर्‍यो भनेर अन्तर्वार्ता दिइरहेका छन्।’

मन्त्री आलेले आफूलाई कुनै मन्त्रीको लोभ नभएको भन्दै जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताए।

‘मलाई कुनै मन्त्रीको लोभ छैन। म जति दिन, जति समय यो कुर्सीमा बस्छु। देश र जनताको शिर ननिहुरिने गरी काम गर्छु’, मन्त्री आलेले भने।

उनले पशुपति क्षेत्रको संरक्षणमा एक सय किलोको मन्त्री सधैं साथमा रहेको बताए।

‘यो पवित्र भूमिमा कतै हावाहुरी आउन नदिन पदाधिकारी साथीहरू, यहाँका जनप्रतिनिधिज्यूहरू हुरी पनि नआउने र बतास पनि नछिर्ने गरी तपाईंले यसको संरक्षण र सम्बर्द्धन गर्नुहोला। यो सय किलोको मन्त्री तपाईंहरूको साथमा छ,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा