नेकपा एमालेले पार्टी हार्नमा केही नेताहरूको अन्तर्घात मुख्य कारण भएको निष्कर्ष निकालेको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ठुलै नेताहरूले अन्तर्घात गरेको भन्दै एमाले यस विषयमा मसिनो गरी छलफल गर्ने भएको छ ।
पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्न सक्छु भन्ने हिम्मतका साथ मैदानमा उत्रिएको एमाले जनमतका हिसाबले सबैभन्दा धेरै मत होल्ड गर्न सफल भए पनि धेरै ठाउँमा पराजित भएको छ । के कारणले पार्टी हार्यो भनेर पार्टी अध्यक्ष ओलीले गम्भीर ढङ्गले अध्ययन गरेको बुझिएको छ ।
निर्वाचन पछि पहिलो पटक बसेको एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी ओलीले लगातार दुई घण्टा मन्तव्य राखेका थिए । ओलीले निर्वाचनमा पार्टीको पराजय गठबन्धनका कारण नभए पार्टी भित्रको अन्तर्घातका कारण भएको बताएका छन् ।
अन्तर घातीहरूकै कारण पार्टी पराजित भएको भनेर पार्टी अध्यक्ष ओलीले यो विषयमा गम्भीर रूपले लाग्ने सङ्केत गरे पछि एमालेमा तरङ्ग गरेको छ । आजको बैठकमा अन्तर्घात लगाएका विषयमा विषय प्रवेश भएको अब गम्भीर रुपमानै विमर्श हुने एमाले स्रोतले जनाएको छ ।
बुधवार संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा पार्टी पंक्ति बलियो हुँदा पनि अन्तर्घातका कारण धक्का व्यहोर्नुपरेको बताएका हुन्।
बैठकपछि बाहिरिँदै एमाले सांसद भीम रावलले स्थानीय निर्वाचन परिणामबारे पनि समीक्षा भएको बताए। उनले अध्यक्ष ओलीले आफ्नै दलबाट असहयोग हुँदा परिणाम सोचे जस्तो नआएको कुरा बैठकमा बताएको जानकारी दिए।
‘चुनावको विषयलाई लिएर अध्यक्ष कमरेडले केही कुरा राख्नु भयो। आफ्नै दलबाट असहयोग भयो, धेरै ठाउँमा उपमेयर जितियो तर मेयर जितिएन’, ओलीको भनाइबारे रावलले भने, ‘यसबारेमा हामीले पनि गम्भीर समीक्षा गर्नुपर्छ भनेका छौँ। तर आज चुनावी समीक्षाबारे गम्भीर समीक्षा भएन, त्यसबारेमा गहिरो छलफल हुने छ।’
ओलीले पार्टीभित्र अन्तर्घातको गम्भीर समीक्षा यो निर्वाचनमा देखिएको बताउँदै यसबारेमा गम्भीर समीक्षा हुने पनि बताएका छन्। एमालेले विराटनगर, काठमाडौँ र पोखरासहितका महानगरमा उपमेयर जित्दा मेयर गुमाएको छ । उपमहानगरमा पनि उपमेयर जितेको एमालेले मेयर गुमाएपछि अन्तर्घात भएको निष्कर्ष निकालेको छ।