१ जेठ, काठमाडौँ ।
राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ वर्षपछि पहिलो पटक जुम्लामा चमत्कार गरेको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ मा राप्रपाबाट दुई वडा सदस्य विजयी भएर इतिहास रचिएको हो ।
पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले दिएको जानकारीअनुसार राप्रपाबाट मानबहादुर कठायत र बिजुली बुढा वडा सदस्य निर्वाचित भएका छन् । उनीहरू दुवैले समान ३६८ भोट ल्याए । राप्रपाले जुम्लामा २०५४ सालदेखि यता कुनै चुनाव जितेको थिएन । अघिल्लो स्थानीय चुनावमा पार्टीले जिल्लाभरिबाट ८६३ भोट ल्याएको थियो ।
के छ देशभरको अवस्था ? राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा सुधारिएको नतिजा देखिएको छ । तर, अहिलेसम्म ६ स्थानीय तहमा अग्रता बनाएको राप्रपाले जितको खाता भने खोलिसकेको छैन । वडा तहमा भने राप्रपा १५ स्थानमा विजयी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
हालसम्म कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा केशव खत्री, कपिलवस्तुको कृष्ण नगर नगरपालिका १ मा टुकनाथ चौधरी अध्यक्षमा विजयी भएका छन् । यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा लक्ष्मण मेहता अध्यक्षमा विजयी हुँदा रुपन्देहीको रोहिणी गाउँपालिकाको वडा नम्बर १ मा अलि पठान (मुक्त्तर अहमद पठान) विजयी भएका छन् ।
यस्तै चितवनको माडी नगरपालिका वडा नम्बर १ मा अमित लामा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा छेदीलाल श्री वास्तव, नवलपरासीको रामग्राम १ मा रुद्र प्रसाद सिंह अध्यक्ष, डोटीको केआई सिंह गाउँपालिका ७ मा दिल बहादुर बलायर, बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ मा गणेश बहादुर विष्ट, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा उमेश कार्की, धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ मा सोनाम तामाङ, रुपहेन्दीको ओमसतिया १ मा बेलबहादुर बराल अध्यक्षमा विजयी भएका छन् ।
यस्तै कञ्चनपुरको दोधारा चाँदनी १ मा विक्रम चन्द, धादिङको खनियाबास वडा नम्बर २ मा अरुण तामाङ र रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अरुण शाही विजयी भएका छन् । ती वडाहरूका अधिकांश स्थानमा राप्रपाका उम्मेदवार प्यानल विजयी भएका हुन् ।