२३ बैशाख, काठमाडौँ ।
भरतपुर महानगरपालिकामा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले फेरी पनि रेणु दाहालले नजिते देश दुर्घटनामा पर्ने भन्दै दिएको अभिव्यक्ति मंहगो साबित हुने देखिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका पुष्प कमल दाहाल ‘प्रचण्ड’को यो अभिव्यक्तिको चौतर्फी खण्डन भइरहेको छ । कार्यकर्ता तहमा असन्तुष्ट पक्षको संख्या बढेसंगै पार्टी परित्यागको संख्या ह्वात्तै बढेको छ ।
प्रचण्डको उक्त चितवन चर्को भाषणको २४ घण्टा नबित्दै माओवादी केन्द्र काठमाडौँका युवा नेता अमर श्रेष्ठ सहितको जम्बो टिमले पार्टी परित्यागको घोषणा गरेका छन् । बागमती प्रदेश कमिटीलाई पत्र बुझाउँदै नेता श्रेष्ठ र अर्का नेता जितेन्द्र खड्काले समेत पार्टी परित्यागको घोषणा गरेका हुन् । काठमाडौँ क्षेत्र नम्बर ४ मा श्रेष्ठ राम्रो जनलहर भएका युवा नेताको रूपमा लिइन्छ । उनले गरेको पार्टी परित्यागलाई क्षेत्रीय तहका अन्य राजनीति दलले समेत विशेष अर्थपूर्ण तरिकाबाट हेरेका छन् । श्रेष्ठको सिङ्गो टिमले पनि केही दिनमै सयौँको सङ्ख्यामा पार्टी परित्याग गर्ने बुझिएको छ ।
यसले माओवादी केन्द्रबाट वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुढानीलकण्ठ नगरपालिकामा उठेका माओवादी पार्टीका उम्मेदवारहरूलाई नसोचेको धक्का लाग्ने देखिएको छ ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३, चुनिखेलका स्थानीयवासी समेत रहेको श्रेष्ठ काठमाडौँ क्षेत्र नम्बर ४ का पूर्व क्षेत्रीय सचिव हुन् । अबको राजनीतिक यात्रा कता हुन्छ भन्ने विषय तय नभएको बताएका छन् ।
पार्टी सदस्य समेत नरहने गरी श्रेष्ठले लेखेको राजीनामा पत्रमा भनेका छन्, ‘वि.स. २०५९ सालदेखि निरन्तर पार्टीको सदस्य मै काम गर्दै आएको र हाल मेरो व्यक्तिगत समय पार्टीलाई दिन नसकेको हुँदा हालसम्म पार्टीले गरेको सहयोग र पार्टीको सदस्य साथीहरूको उच्च मायालाई आत्मसाथ गर्दै आजको मितिदेखि लागु हुने गरी मेरो यस पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा पेस गरेको छु ।’

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।