नेकपा एमालेको तर्फबाट मेलम्ची नगरपालिकामा मेयरका उम्मेदवार बनेका बालकृष्ण देउजाले मेलम्चीमा एमालेको जित सुनिश्चित भइसकेको भन्दै मतान्तरका लागी मात्रै प्रतिस्पर्धा हुने बताएका छन् ।
एमालेको पक्षमा व्यापक जनसमर्थन रहेको भन्दै देउजाले जनतातको मनबाट एमाले अनुमोदित भइसकेको र अब वैशाख ३० गते मतबाट अनुमोदित हुने बताएका छन् ।’ मनबाट भएको अनुमोदन मतमा बदलिने मात्रै बाँकी छ ,हामीले चुनाव जिती सकेका छौँ’ । देउजाले भनेका छन् ।
चुनावी अभियानका क्रममा भएका घरदैलो र चुनावी सभालाई सम्बोधन गर्दै देउजाले मेलम्चीमा अन्य पार्टीले एमालेसँग एक्लै निर्वाचन लड्न सक्ने ताकत गुमाएको पनि बताएका छन् । ‘अन्य पार्टीमा अब एमालेसँग एक्लै चुनाव लड्न सकिन्छ भन्ने आँट सकिएको छ, एमाले हराउनैका लागी जो सँग पनि गठबन्धन गरेका छन् यो नै एमाले बलियो रहेको प्रमाण हो हामी सानदार विजयको नजिक छौँ ।’ देउजाको भनाइ छ ।
जनताबाट प्राप्त प्रतिक्रिया र उत्साहबाट निकै खुसी देखिएका देउजाले पाँच वर्ष भित्र मेलम्चीलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण र खाका आफू सँग भएको दाबी गरेका छन् । जनताकै सहभागितामा सहभागिता मूलक योजना बनाएर समृद्ध मेलम्चीको अवधारणा उनले अघि सारेका छन् ।
कृषि , युवा , शिक्षा , स्वास्थ्य , पर्यटन , रोजगार सबै क्षेत्रमा स्पष्ट खाका बनाएर अधिकतम जनताले लाभ प्राप्त गर्न सक्ने गरी कार्य योजना बनाउने बताउँदै देउजाले पाँच वर्ष भित्र आत्मनिर्भरता सहितको समृद्ध मेलम्ची जनतालाई उपहार दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कृषकको उत्पादनका आधारमा अनुदानको दिने भन्दै देउजाले कृषकले उत्पादन गरेका चिजलाई उचित मूल्य सहितको बजारको ग्यारेन्टी नगरपालिकाले गरिदिने र ढुवानी खर्च नगरपालिकाले नै व्यहोर्ने घोषणा पनि गरेका छन् ।
धुवाँका कारण क्यान्सर जस्ता रोगले धेरै नेपालीले ज्यान गुमाउनु परेका भन्दै देउजाले जनतालाई निःशुल्क इन्डक्सन चुलो वितरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । मेलम्चीका धेरै तामाङ समुदाय रक्सी बनाउने पेसामा रहेको भन्दै उनले यसलाई व्यवस्थित र व्यावसायिक बनाउँदै कानुनी मान्यता दिलाउन मेलम्चीको मेयरको रूपमा आफूले पहल गर्ने प्रतिबद्धता पनि देउजाले व्यक्त गरेका छन् ।