एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा र पागलहरुको प्रलाप भनेका छन् ।
मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको दाबी गरे ।
उनले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाए ।
अध्यक्ष ओलीले २०६२÷०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताएका थिए । उनले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाए ।
काँग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजना नभएको र काँग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताए ।
उनले भने, “नेपाली कांग्रेसले घोषणापत्र भन्ने शीर्षक छ बाहिर । बाहिर शीर्षक, भित्र गाली पुराण भन्ने अहिलेसम्म सुनेको थिएन, भित्र गाली पुराण छ । यो तथानाम एमालेलाई गाली, धारे हात लाएर, सरापेको छ । नेपाली कांग्रेसले, नेपाली कांग्रेसका कार्यकर्ताहरुले सरकार बनाउला भन्ने कत्रो सपना देखेका थियौँ, नेकपा एमलेका कारणले हाम्रा सपनाहरु ध्वस्त भए । हाम्रो सपना ध्वस्त पार्ने त्यस्तो अपराधी हो नेकपा एमाले भन्ने लेख्छ चुनाव घोषणापत्रमा । कुनै गन्तव्य हुँदैन । उत्ताउलो विकास । एमालेले हिमालका चुचुरामा चुच्चे रेल कुदाउने गफ गर्छ रे । हाम्रा खोला खोल्सीहरुमा ठूला पानी जहाज चलाउने गफ हान्छ रे घोषणापत्रमा लेखेको । के भएको नेपाली कांग्रेसलाई । एउटाले लेखेको भए पनि लेख भन्ने हुन्थ्यो । पार्टीको घोषणापत्र यति साह्रो बिसन्चो । सभ्यता, शिष्टता, मर्यादाको कुरा छैन ।
राष्ट्रपतिलाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन छोडेर केपी ओलीलाई किन प्रधानमन्त्री बनाएको भनेर घोषणापत्रमा लेख्छ । राष्ट्रपतिमाथि हमला गरेको छ । नेपाली कांग्रेसलाई सन्चो छ कि छैन ? एकपटक घोषणा गर्न भन्दा अघि सोध्न मन लागेको छ । राजनीतिक, संवैधानिक, कानुनी कुरा गर्नुपर्यो नि ! अधिकांश घोषणापत्र त्यस्तै छ । अर्को पाटो संविधानका राम्रा कुराहरु ठाउँठाउँबाट निकालेको छ । संविधानबाट टिप्दै राख्दै गरेको छ । अर्को पक्ष पनि छ । एमालेको घोषणापत्र नक्कल गरेर सारेको छ । चोर विद्यार्थीले चिट चारेझैँ अर्काको लेख्दा आँखा उता हात यता हुँदा छड्को अक्षर भएका छन् ।