नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य लालबाबु पण्डित स्थानीय चुनावको प्रचारप्रसार र पार्टीका कार्यक्रममा सक्रिय भएका छन् । सोमबार उनले आफू सिटी सफारीमा चढेर मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा आयोजित चुनावी कार्यक्रममा सहभागी भएको तस्बिर र भिडियो फेसबुकमार्फत सेयर गरेका छन् । मंगलबार विराटनगरका वडाहरूमा भएका कार्यक्रमका तस्बिर पनि उनले पोस्ट गरेका छन् ।
चुनावका बेला सामाजिक सञ्जालमा निकै छाउने पण्डितले यो पटक सिटी रिक्सा प्रयोग गरेको फोटो सेयर गरिरहेका छन् । अघिल्लोपटक पण्डितको चर्चा साइकलसँग जोडेर भएको थियो ।
यसअघि खर्च कम गर्ने र किफायती उमेदवार भन्ने प्रचार गरेका पण्डितले आफ्नो किताबको कभर पेजमा छाप्न सिंहदरबार अगाडि साइकल कुदाएको फोटो सामाजिक सञ्जालमा राखेका थिए । त्यसको पनि खुबै चर्चा भएको थियो । तर, उनी गृहनगर विराटनगरमा साइकलामा चढेर हिँडेको अहिलेसम्म देखिएको छैन ।
पण्डित विराटनगर महागनरपालिकाको मेयरको उमेदवार बन्ने चर्चा थियो । तर, एमाले महानगर कमिटीको सिफारिसमा उनको नाम अटाएन ।
एमाले महानगरका एक नेताकाअनुसार पण्डितले सर्वसम्मत चयन भई नाम सिफारिस हुनुपर्ने चाहना राखे पनि आकांक्षी धेरै भएकाले उनको मात्र नाममा सहमति जुटेन ।
एमाले महानगर कमिटीका सभापति सागर थापाले महानगरपालिकाका सम्भावित उमेदवारहरूको सूची पार्टीको केन्द्रीय कमिटीलाई पठाइसकिएको बताए । प्रमुख पदमा महानगरका अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ ।
संसदीय निर्वाचनमा उनले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डा। शेखर कोइरालालाई पराजित गरेका थिए । स्थानीय चुनावको सन्दर्भमा पण्डितले आफूले महानगरको मेयरमा उठ्न इच्छा नगरेको बताइरहेका छन् । कार्यक्रमहरूमा एक ढिक्का भएर चुनावी अभियानमा सक्रिय बन्न कार्यकर्तालाई उत्साहित गरिरहेका छन् । तर, योपटक विगत जस्तो पण्डितको क्रेज नदेखिएको एमालेकै एक कार्यकर्ताहरू बताउँछन् ।
चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलका केन्द्रीयस्तरका नेताहरू वडामा हुने कार्यक्रमहरूमा सहभागी हुने क्रम बढेको छ । कांग्रेस, जसपा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का केन्द्रीयस्तरका नेताहरू पनि मोरङका विभिन्न पालिकाहरूमा भइरहेका चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् ।