शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गठबन्धनलाई ओलीको व्यङ्ग्य : पाँचवटा बाख्रा एक ठाउँमा जम्मा भएर कहिल्यै भैँसी हुँदैन !


  • मंगलबार, चैत्र २९ २०७८
11.7K
SHARES

फाइल तस्विर

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘५ बाख्रा एक ठाउँमा जम्मा भए भैंसी नहुने’ भनी व्यंग्य गरेका छन्। अध्यक्ष ओलीले सोमबार बझाङको चैनपुरमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ५ दलीय गठबन्धनप्रति गर्दै यस्तो व्यंग्य गरेका हुन्।

पाँचवटा बाख्रा एक ठाउँमा आए भैंसी बन्दैन। ती बाख्रा नै हुन्छन्,’ उनले भने, ‘अहिले कसै–कसैलाई पाँचवटा बाख्रा मिलेर भैंसीजत्रा भएका छौं, भन्ने भ्रम भइरहेको छ।’ अध्यक्ष ओलीले पाँच दलहरू एमालेसँग चुनाव लड्न नसक्ने बताए। उनले केन्द्रका नेताहरूले बाध्य पारिएजस्तो देखिए पनि पार्टीको तल भने आफूलाई जोगाउन खुसुक्क एमालेसँग मिल्न तयार रहेको दाबी गरे। उनले पाँच दलले एक्लै एमालेसँग जुध्न आए सिङ भाँचिने बताए। ‘एमालेसँग सिङ जुधाए भाँचिन्छ। एमालेसँग जसले सिङ जुधाउँछ, त्यो भाँचिन्छ,’ उनले भने, ‘एमाले अलिकति पछाडि सरेको छ। तर, पछाडि सरेको भेडाले अगाडि सरेर हान्दा कस्तो हुन्छ ? तपाईंहरूलाई थाहै होला।’

ओलीले पाँच दलीय गठबन्धनलाई ‘पाँच मुख भएका खन्चुवा’ को संज्ञासमेत दिए। उनले पाँच दलको गठबन्धनको सरकारले देश रसातलतर्फ पुर्‍याउन लागेको टिप्पणी गरे। सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तलबसमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको ओलाीको दाबी छ। ‘हामीले ज्येष्ठ नागरिक भत्ता ५ हजार पुर्‍याउने भनेका थियौंं। तर, अहिलेको सरकारले ज्येष्ठ नागरिक भत्ता नै दिन नसक्ने अवस्था आउन थालेको छ,’ उनले भने, ‘हामीले कोरोनाका बेलासमेत कर्मचारीको तलब बढायौं। तर, यो सरकार कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्थामा छ।’

ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरे। चुनावीसभालाई सम्बोधनका क्रममा उनले पाँचै दल मिलेर आए पनि एमाले नडराउने बताए। ओलीले सुदूरपश्चिममा कमिसन मात्रै आएको तर विकास नआएको दाबी गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा