काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइराला आफ्नै अभिव्यक्ती महङ्गो पर्ने संकेत देखिन थालेको छ । उनले अभिव्यक्ती दिएको २४ घण्टा नबित्दै निर्वाचन आयोग एक्सनमा उत्रिएको हो ।
निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैंया खर्च भएको भनी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको बताएको छ । निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले संवेदनशील अभिव्यक्ति दिएको भन्दै आयोगले त्यसबारे छलफल गर्न केहीबेरमा पदाधिकारीहरुको बैठक डाकेको छ ।
‘हिजो कांग्रेस नेता शशांक कोइरालाले अघिल्लो प्रतिनिधीसभा निर्वाचनमा ६ करोड खर्च भयो भनेर दिनुभएको अभिव्यक्ति निकै संवेदनशील हो’ आयोग स्रोतले भन्यो, ‘एउटा खालको निर्वाचन खर्च पेश गर्ने, तर अहिले त्योभन्दा बढी खर्च भएको भनेर दलहरुकै शीर्ष नेताहरुबाट खुलासा हुन थालेपछि हामी पनि संवेदनशील हुनुपर्ने देखियो, त्यसैलाई केन्द्रमा राखेर छलफल गर्दैछौं ।’
निर्वाचन आचारसंहिता जारी भएको दुई दिन नवित्दै केही जिल्लाहरुबाट उल्लंघनका घटनाहरु दर्ता भएका छन् । शुरुवातमा नै आचारसंहिता उल्लंघन भएपछि निर्वाचन नजिकिदै जाँदा त्यसलाई नियन्त्रण गर्न कठिनाई हुने भन्दै आयोगले छानविन र कारवाहीका लागि योजना बनाउन खोजेको हो । सरकार र विभिन्न पदमा रहेकाहरुले समेत आचार संहिता उल्लंघन गर्न थालेको भन्दै उजुरी परेका छन् । त्यसवारेमा पनि छलफल हुने आयोग स्रोतले बतायो ।
के भनेका थिए कोइरालाले रु नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताएका छन् । नवलपुर–१ बाट निर्वाचित उनले २०७० सालमा ३ करोड रुपैयाँ खर्च भएकामा २०७४ सालमा ६ करोड खर्च भएको बताएका हुन् ।
नेपाल विद्यार्थी संघको इलाम काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले भने, ‘मैले नवलपरासी क्षेत्र नम्बर १ बाट तीन चोटी जितेँ । पहिलो चोटी मेरो खर्च ८० हजार थियो । दोस्रो चुनावमा ३ करोड र लास्ट चुनावमा ६ करोड ।’उनले कसैले आफ्नो क्षेत्रमा उम्मेदवार बन्न चाहे आफूले छाड्ने पनि बताए । ‘ल भन्नुस् त तपाईहरु चुनाव लड्न चाहनुहुन्छ मेरो क्षेत्रबाट ?
म छोड्न तयार छु । तपाईंले कम्तीमा ६÷७ करोड खर्च गर्नुपर्छ ।’ आफू पहिलो पटक नवलपरासीबाट प्रतिस्पर्धा गर्दा नयाँ रहेको र कसैले नचिनेको भन्दै उनले त्यसपछि झन् चुनाव खर्च घट्नुपर्नेमा अस्वाभाविक रुपमा बढेको बताए । ‘चिनिसकेपछि त झन् घट्नुप¥यो नि, मेरो चुनावीखर्च घट्दै जानुपर्ने हो, बढ्दो क्रममा छ’ उनले भने ।