कपन स्थित जुगल स्कुल तथा कलेजले विद्यालय स्तरमा पहिलो पटक जुगलअन्तर विद्यालय मौखिक पुस्तक समीक्षा प्रतियोगिता सम्पन्न गरेको छ । ‘पठन संस्कारको आधारः पुस्तकालयको विकास र विस्तार’ भन्ने मूल नाराका साथ भदौ ९—१५ गतेसम्म चल्ने साताव्यापी १२ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम भदौ १३ गते स्कुलको प्रांगण कपनमा २२ विभिन्न विद्यालयहरुको सहभागीतामा सम्पन्न भएको थियो ।
नेपाल राष्ट्रिय पुस्तकालय, ललितपुरको सहकार्यमा सम्पन्न उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई १९ पृष्ठको सानो कृति दिइएको थियो जसलाई प्रतियोगिता स्थल मै वसेर १ घण्टा अध्ययन गरी आफुले उक्त कृतिबाट प्राप्त गरेको सन्देशलाई ५ मिनेट भित्रमा बोल्नु पर्ने नियम थियो । सबै विद्यार्थीहरुले अत्यन्तै उत्सुकताका साथ प्रतियोगितामा सहभागी भएका थिए ।
वरिष्ठ साहित्यकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्रिय पुस्ताकालयका प्रमुख उपेन्द्रप्रसाद मैनाली, वरिष्ठ पुस्तकालयविद् इन्दिरा दली, वुढानिलकण्ठ नगरपालीकाका शिक्षाशाखा प्रमुख जगन्नाथ उपाध्यय, काठमाडौं उपत्यका सार्वजनिक पुस्ताकालयका प्रमुख जिजु डंगोल लगायतका शिक्षाप्रेमी, विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको वाक्लो उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगितामा २२ विद्यालयका विद्यार्थीहरुलाई उछिन्दै पायोनियर पब्लिक स्कुल, कपनकी कक्षा ९ की छात्रा स्मारीका दाहालले प्रथम स्थान हासिल गरीन ।
त्यस्तै बौद्ध चिल्ड्रेन ह्याभन स्कुलका छात्र विवेक नेपाल द्वितीय तथा जोसेफ हाइ स्कुलका छात्र अभिलेख राज उप्रेतिले तृतीय स्थान हासिल गरेका थिए ।
विद्यालय तथा राष्ट्रिय पुस्तकालयको तर्फबाट विजेताहरुलाई ट्रफी, मेडल, प्रमाण–पत्र, पुस्तक तथा सहभागी सबै विद्यार्थीहरुलाई विभिन्न पुस्तक र प्रमाण–पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा वोल्दै विद्यालयका प्रिन्सिपल विवेक विनयीले विद्यार्थीहरुमा पठन संस्कार खस्किदै गइरहेकोले राष्ट्रिय स्तरमा पठन संस्कारलाई विद्यार्थीहरु मार्फत स्थापित गराउँदै अघि बढ्न विद्यालय स्तरमा पहिलो पटक यो कार्यक्रम जुगलले आयोजना गरेको बताउनु भयो ।
त्यस्तै प्रमुख अतिथि युवराज नयाँघरेले प्रतियोगितामा विद्यार्थीहरुले एकैछिन पुस्तक अध्ययन गरेर पनि अभूतपूर्व प्रस्तुती दिएको भन्दै विद्यार्थीहरुको प्रशंसा गरे । साथै विद्यार्थी, शिक्षक, अभिभावक एवं आममानिसहरुलाई पठन संस्कार सिकाउने सन्दर्भमा जुगल र राष्ट्रिय पुस्तकालयले ऐतिहासिक कार्य गरेको उद्घोष गर्दै धन्यवाद दिए । अब घरघरमा सौन्दर्य सामग्री तथा मदिरा वार राखेजस्तै सबैले सानै भएपनि पुस्तकालय बनाउनु पर्छ अनि मात्र पठन संस्कारले व्यापकता पाउँछ भन्दै नयाँघरेले उक्त कार्यमा सबैलाई हातेमालो गर्न आह्वान गर्नु भयो ।
राष्ट्रिय पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले देशभर पठन संस्कार अभिवृद्धि गर्न विभिन्न योजना साथ पुस्तकालयले काम गरीरहेको त्यसै क्रममा आज जुगलसँग सहकार्य गरी यो कार्यक्रम सम्पन्न गरेको वताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष डोर प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चार सयभन्दा बढी विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको उपस्थिति थियो । कार्यक्रममा जुगलका विद्यार्थीहरुले मोतिराम जयन्ती, पितृ सम्मान तथा तीजको समेत सन्दर्भ पारेर विभिन्न कविता, चुटकिला तथा सास्कृतिक प्रस्तुतीहरु दिएका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले जुगल इङ्लिस मिडियम स्कूल/कलेजका फाउण्डर, प्रिन्सिपल विवेक विनयी र प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पायोनियरकी छात्र स्मारिका दाहालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।