मेलम्चीको खानेपानी अबको १० दिनमा काठमाडौंमा वितरण सुरू हुने मेलम्ची खानेपानी विकास समितिले बताएकाे छ । पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेसँगै सुरुङमा पानी पठाउने तयारी भइरहेको समितिले जनाएको छ ।
समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको बताए । ‘‘गेट मर्मतको काम भइरहेको छ । सबै गेटको निरीक्षण भोलिसम्म सकिन्छ । अबको तीन–चार दिनमै सुरुङमा पानी पठाउँछौँ,” उनले भने ।
समितिका अनुसार सबैतिरको लेदो, गेग्रान सरसफाइको काम सकिएको छ । गेटहरूको थोरै काम बाँकी रहेको कुँवरले बताए । ‘‘तीन चारदिनमै टनेलको फिलिङ सुरु हुन्छ । टनेलमा पानी पठाउँदा भरिन समय लाग्छ । प्रोटोकल अनुसार काठमाडौंसम्म अस्थायी रुपमा पानी आइपुग्न थप ८–१० दिन लाग्छ,” उनले भने, ‘‘टनेलमा पानी फिलिङ गरेपछि निरन्तर पहिलेजस्तै पानी आउँछ । खानेपानीको टनेल सिधा छैन । पानी भर्ने प्रोटोकल हुन्छ । एकैपटक सबै पानी हान्न मिल्दैन । २६० लिटर प्रतिसेकेण्डको दरले टनेलमा पानी हाल्नुपर्छ ।”
समितिका अनुसार पानी टनेलमा हाल्दै जाँदा कति दिनमा टनेल भरिन्छ भन्ने हिसाब निस्किन्छ । समितिलाई हेडबक्स र सुरुङमा अनुमान गरिएको भन्दा धेरै लेदो जम्मा भएकोले केही जटिलता सिर्जना भएको थियो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले चैत मसान्तभित्र अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने घोषणा गरेका थिए । मन्त्री चौधरीको घोषणा अनुसार पानी नआई केही दिनपछि मात्रै आउने भएको जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।