राष्ट्रिय जनमोर्चाले आगामी स्थानीय चुनावमा नेकपा एमाले र राजावादी पार्टीहरूसँग चुनावी तालमेल नगर्ने प्रस्ट पारेको छ । सो पार्टीले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी तयारी गरिरहेको भन्दै चुनावमा प्रतिगमन वा फासिष्ट शासनलाई पराजित गर्ने उद्देश्यलाई ध्यान दिएर एमाले र राजावादीबाहेकका पक्षहरुसित तालमेल गर्ने नीति लिएको उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।
‘त्यस अनुसार एमाले र राजावादीसँग कुनै तालमेल नगर्ने र सत्तारुढ चार दलसित चुनावी तालमेल गर्ने हाम्रो नीति हुनेछ’, विज्ञप्तिमा भनिएको छ । एमसीसी सम्बन्धी मतभेदका कारण पाँच दलीय गठबन्धनबाट हटे पनि जनमोर्चाले अहिलेको देशको राजनीतिक स्थितिमा प्रतिगमन नै मुख्य खतरा रहेकाले चुनावमा त्यसलाई पराजित गर्न सत्ता पक्षका चार दलसित चुनावी तालमेल गर्ने ठेगान गरेको जनाएको छ । त्यस्तै जनमोर्चाले त्यसका साथै प्रतिगमनका विरुद्धको संघर्षको क्रममा गठन भएको वर्तमान सरकारलाई दिएको समर्थन पनि कायम राख्ने नीति अपनाएको पनि दोहोर्याएको छ ।
‘त्यसअनुसार सत्ता पक्षका चार दलहरुसित केन्द्रीयस्तरमा हाम्रा कैयौं बैठकहरु सफलतापूर्वक सम्पन्न हुनुका साथै प्रदेश र जिल्ला स्तरमा पनि चुनावी तालमेलका लागि बैठक र वार्ताहरु देशव्यापी रुपमा नै अगाडि बढिरहेका छन् । त्यसका आधारमा स्थानीय चुनावमा प्रतिगमनलाई पराजित गर्न सफल हुने छौँ भन्ने कुरामा हामीले आशा र विश्वास गरेका छौँ’, राष्ट्रिय जनमोर्चाले भनेको छ ।
जनमोर्चाले प्रतिगमनलाई पराजित गर्न सत्तारुढ विभिन्न दलहरुसित तालमेलको नीति अपनाउनुका साथै स्वतन्त्र रुपले पनि चुनावको तयारीमा जुटेको जनाएको छ । त्यसका लागि जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय स्थानीय तह निर्वाचन बोर्ड गठन गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।