शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पल शाहलाई थुनामा राख्न आदेश


  • बुधबार, चैत्र २३ २०७८
9.6K
SHARES

फाइल तस्विर

पूर्वीनवलपरासी — किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो । शाहलाई बुधबार नै तनहुँ पठाइएको छ । तनहुबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेको छ ।

किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना ४ थियो । १४ देखि १६ वर्षकी किशोरीलाई बलात्कारको अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । पीडित भनिएकी किशोरीले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् । अधिवक्ता गणेश अधिकारीले पीडित भनिएकी किशोरीबाट दिइएको उजुरी झुठो र फसाउने नियतले आएको देखिन्छ भनेका थिए । उनीलगायत ९ जना अधिवक्ताले शाहको पक्षबाट बहस गरेका थिए ।

यता पीडित किशोरीको पक्षबाट बहस गरेका ३ जना सरकारी वकिल र २ अघिवक्ताले शाहले बलात्कार गरेको यथेस्ट प्रमाण भएको दाबी गर्दै किशोरीको मागबमोजिम १२ देखि १४ वर्ष कैद सजायको मागदाबी गरेका थिए । तीन जना सरकारी वकिलले शाहलाई हदैसम्मको सजाय हुन पर्ने माग गरेका छन् ।

जिल्ला अदालत पूर्वी नवलपरासीमा बुधबार पीडित किशोरीका तर्फवाट ३ जना सरकारी वकिलले बहस गरेका छन् । सरकारी वकिल कमलराज पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको किटानी जाहेरीका आधारमा शाहलाई हदैसम्मको कैद सजाय हुनुपर्ने माग गरेका छन् । जाहेरीवालका किशोरीका तर्फबाट अधिवक्ता सरिता तिवारी र भूपेन्द्र खनालले बहस गरेका थिए ।

किशोरीको पक्षबाट बहस गरेकाहरुले पीडितको निवेदन र माग दाबी बमोजिम १२ देखि १४ वर्ष कैद सजाय हुनुपर्ने माग गरेका छन् । बुधबार दिउँसो १ बजे सरकारी वकिलको बहस सकिएको थियो । बुधबार दिउँसो सवा १ बजेपछि पल शाहका तर्फबाट ९ जना वकिलले बहस सुरु गरेका छन् । प्रतिवादी शाहका पक्षबाट बहस गरेका वकिलहरुले किशोरीले शाहलाई झुठो आरोप लगाएर फसाउन खोजेको दाबी गरेका छन् । ‘पल शाहलाई किर्ते गरेर फसाउन खोजिएको छ, शाह निर्दोष छन्,’ अधिवक्ता गणेश अधिकारीले भने, ‘बिनाप्रमाण झुठा आरोप लगाएर शाहलाई फसाउन खोज्ने नियत खराब देखिएकाले उनलाई रिहा गर्नु पर्ने माग गर्‍यौं ।’

शाहको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय यदुनाथ खनाल, कमलामोहन वाग्ले, बारका जिल्ला अध्यक्ष चेतनारायण भुसाल, अधिवक्ता भानुभक्त सुवेदी, जनकराज ढुंगाना माधव घिमिरे लगायतले बहस गरेका थिए । उनीहरुले शाह निर्दोष रहेको दाबी गर्दै रिहाईको माग गरेका थिए ।

जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार शाहका पबाट ९ जना वकिल अधिवक्ताले बहस पैरवी गरेका थिए । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत पूर्वी नवलपरासीमा ल्याएर बयान लिइएको थियो । जिल्ला प्रहरीले शाहलाई अदालतको आदेशअनुसार मुद्दा सुरुवात भएको तनहुँ प्रहरी हिरासतमा पठाइने जानकारी दियो ।

तनहुँ र पूर्वी नवलपरासीमा एक वर्षअघि बलात्कार गरेका अभियोग लगाउँदै मुद्दा दर्ता गराउने किशोरी एउटै हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा