स्थानीय तहको चुनाव नजिकिँदै गर्दा देशमा चुनावी माहोल बढ्दै गइरहेको छ । स्थानीय सरकारको नेतृत्व लिन विभिन्न क्षेत्रका मानिसहरू अग्रसर बनिरहेका छन् । त्यसमा पनि शिक्षकहरू अगाडि देखिएका छन् । देशैभरि वहालवाला वा निवृत्त भइसकेका सयौँ शिक्षकहरू राजनीतिज्ञ बन्ने यात्रामा निस्किएका छन् । शिक्षकहरूको यो चासोलाई समाजले अनुमोदन गरेको छ । निश्चित रूपमा एउटा कुशल शिक्षक नेतृत्वमा आयो भने समाज रूपान्तरण तथा विकासले फड्को मार्न सक्छ ।
यही क्रममा राजधानीको महत्वपूर्ण बुढानीलकण्ठ नगरपालिकामा एक वरिष्ठ सेवानिवृत्त कुशल शिक्षक आसन्न चुनावमा नेपाली काँग्रेसको झण्डा बोकेर मैदानमा उत्रिएका छन् ।
विद्यालयदेखि क्याम्पससम्म अध्यापन गराएको लामो अनुभव सँगालेका शिक्षक डोरप्रसाद आचार्य यतिखेर बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा अध्यक्षका लागि उम्मेद्वारी दिएका छन् । २०४६ सालदेखि नेपाली कांग्रेसमा क्रियाशील रहेका आचार्यलाई कपन वडा नं. १० का पुराना नेपाली कांग्रेसका स्थानीय नेता, महिला, प्राज्ञिक व्यक्तिहरू एवं युवा कार्यकर्ताहरू तथा शुभेच्छुकहरूले समेत संयुक्तरूपमा अध्यक्षका लागि उम्मेद्वारी दिन प्रेरित गरी गहकिलो समर्थन गर्दै अगाडि सारेका छन् । नेपाली कांग्रेसको क्रियाशील संस्था नेपाल शिक्षक संघको काठमाडौँ जिल्ला कोषाध्यक्ष र जिल्ला कार्यसमितिमा समेत रहेर काम गरेका आचार्य बुढानीलकण्ठ नगरपालिका वडा नं. १० मा अध्यक्षको प्रत्यासी भए पछि हामीले उनीसँग सम्पर्क गरेर केही जिज्ञासा राखेका थियौँ ।
पूर्णकालीन राजनीतिमा किन होमिन खोज्नुभयो भन्ने हाम्रो जिज्ञासामा आचार्यले सभ्य समाज र वैज्ञानिक विकासका लागि अबको जीवन समर्पण गर्ने बताउँदै आफ्नो जीवनमा सेवा सबैभन्दा ठूलो कर्म भएको बताए । शिक्षा सेवा जस्तै राजनीतिलाई पनि सेवाको अवसरका रूपमा आत्मसात गर्दै नुतन राजनीतिक अभ्यासको थालनी गर्ने उद्घोष गरेसँगै आचार्यका खबरहरूले स्थानीय मिडियाहरू भरिभराउ देखिन्छन् । धेरैको ध्यानाकर्षण गरेको छ ।
हामीले उनै आचार्यको जीवनका केही पाटाहरू एवं आगामी योजनाबारे सोधखोज गरेका छौँ । अहिले नेपालको सिंगो राजनीतिमा भूतपूर्व शिक्षकहरूले विभिन्न तह र तप्कामा बसेर पार्टीलाई दिशानिर्देश गरिरहेका छन् । देशलाई शिक्षा क्षेत्रले प्रधानमन्त्रीसमेत दिएको छ । मन्त्री तथा नेताहरूको संख्या त झन् धेरै छ । समाजले शिक्षकहरूलाई राजनीतिक नेताका रूपमा रुचाएको पनि छ । सम्मान पनि गरेको छ । कलिला विद्यार्थीहरूको सुन्दर जीवनको रूपरेखा कोर्न सक्ने शिक्षकहरूसित समाज र देशलाई बदल्न सक्ने इच्छाशक्ति, ल्याकत र भाव पनि हुन्छ । तसर्थ पनि शिक्षकहरू सफल राजनीतिज्ञ बनिरहेका छन् ।
डोरप्रसाद आचार्यले लामो समय विद्यालयमा कर्म गरे । बुढानीलकण्ठ–१० कपनमा अवस्थित बालउद्धार माविलाई आजको अवस्थासम्म ल्याउन जग बसालेर मार्गनिर्देश गर्ने प्रमुख श्रेय उनै आचार्यलाई जान्छ । लामो समयसम्म उनले प्रधानाध्यापक बनेर स्कुललाई निरन्तर माथि उकासे । उनको शिक्षणकाललाई स्वर्णकालका रूपमा अहिले पनि मानिसहरू स्मरण गर्छन् । सेवानिवृत्त भएर स्कुलको गेटबाट निस्कनुअघि उनले आफ्ना प्यारा विद्यार्थीका लागि एक लाखको अक्षयकोषसमेत स्थापना गरेर गए ।
स्कुलसँगै आचार्यले क्याम्पसलाई पनि अगाडि बढाए । बालउद्धारको परिसरबाट प्रारम्भ भएको हालको कपन बहुमुखी क्यापस आज भव्य भवनसहित समृद्ध बन्दै गइरहेको छ । गुणस्तरीय शिक्षाको केन्द्र उक्त क्याम्पसमा अहिले पनि आचार्य सहायक क्याम्पस प्रमुखका रूपमा कार्यरत छन् । उक्त क्याम्पसको समग्र विकासमा पनि आचार्यको भूमिका उल्लेख्य रहेको छ । यसरी शिक्षा क्षेत्रमा उनले महत्वपूर्ण कर्म गरिरहेका छन् ।
त्यसैगरी समाज विकासमा झन् उनको ठूलो हात रहेको छ । सभ्य समाज निर्माणका लागि उनी हरदम बालबालिका, युवा, महिला तथा वृद्धवृद्धाहरूसँग जोडिएर तन, मन र धनसहित सेवारत छन् । समाजको समग्र विकासमा जोड दिने आचार्यको यही भूमिकाले आज उनलाई बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को अध्यक्ष बनाउन खोजेको हो ।
शैक्षिक रूपमा यति धेरै उपलब्धि हासिल गरिरहेका एक कर्तव्यनिष्ठ शिक्षासेवी राजनीतिमार्फत् समाज रूपान्तरण र विकासका लागि समर्पित हुन खोज्नु अत्यन्तै सुखद कुरा हो । राजनीतिलाई फोहोरी खेल (Politics is dirty game) भनिरहेको सन्दर्भमा आचार्यको मत भिन्न तर वैज्ञानिक देखिन्छ । उनी भन्छन्– राजनीति पवित्र र सफा खेल हो । तर, खेलाडी भने दूषित हुन सक्छ । उनी भन्छन्– इनारको (राजनीति) पानी सफा छ तर पानी झिक्ने बाल्टी (राजनीतिज्ञ) फोहोर हुन सक्छ । फोहोर बाल्टी फेर्न पनि मिल्छ । आचार्यले राजनीतिलाई पवित्र सेवाका रूपमा अथ्र्याएका छन् ।
उनी त प्रतिभाशाली युवाहरूलाई अनुरोध गर्दै भन्छन्– दल र नेताहरूलाई बाहिरबाट गाली गर्नुभन्दा राजनीतिमै प्रवेश गरेर देश परिवर्तन गर्नुपर्छ । यदि हामी सबैले खाली बाहिर बसेर राजनीति र नेताहरूलाई गालीमात्र गरिरहने हो भने देश त बन्दै बन्दैन । हाम्रो आफ्नो जीवन पनि बन्दैन । जसले राजनीतिलाई कालो पाटो देखेको छ उसले त्यसलाई सुधार्न गर्न मैदानमा उत्रनुपर्छ । त्यति गर्न सकिएन भने रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ । गालीगलौज गरेर आफ्नो अनमोल समय खेर फाल्नुहुन्न ।
आचार्यको व्यक्तित्व अध्यात्ममा पनि झाँगिएको छ । आफ्नो जीवनमा हरेक दिन उनले साधनालाई जोडेका छन् । योग, प्रार्थना र ध्यानबाट दैनिकी सुरु गरेर त्यसरी नै दिनको अन्त्य गर्ने उनको पुरानो आदत छ । उनले जीवनको सबैभन्दा ठूलो उपलब्धि आफैँलाई चिन्नु र हरक्षण आनन्दित जीवन बाँच्नु हो भन्छन् । हरेक मानिसले म को हुँ ? मेरो कर्तव्य के हो ? जीवन के हो ? लगायतका आफ्ना प्रश्नको उत्तर खोज्नुपर्छ । यसको उत्तर कुनै किताबबाट होइन, कुनै गुरुबाट होइन, स्वयं साधनाबाट प्राप्त गर्नुपर्छ भन्ने कुरामा उनको जोड रहेको छ । यसका लागि आध्यात्मिकरूपमा प्रज्ञावान हुन जरुरी छ । त्यस्तै आचार्यले जीवनमा के कति सम्पत्ति छ, मान सम्मान कस्तो छ, पद के छ भन्दा पनि जीवनमा पलपल कत्तिको ढुक्कले, आनन्दले बाँचिएको छ भन्ने कुरा महत्वपूर्ण छ भन्ने मत राखेका छन् ।
आचार्यले महत्वपूर्ण कुरा उद्गार गरे । यो नेपाल धर्ती बुद्धको भूमि हो । नेपालको माटो जहाँसुकै खोतले पनि भगवान् बुद्धको सुगन्ध भेटिन्छ । यस्तो पवित्र भूमिका हामी जनतालाई प्रार्थना, ध्यान, सत्संग र योगमा नजोडिने अधिकार छैन । हामी बुद्धका मानिसहरू हौँ । जगत्लाई उनले दिएको ध्यान हामीले सिक्नै पर्छ । आध्यात्मिक हुनै पर्छ । धेरथोर ध्यान र सत्संगमा जोडिन पाउनु मेरो अहोभाग्य हो ।
यसरी करुणाले भरिएको, शैक्षिक सेवाले ओतप्रोत भएको एक साधक राजनीतिमा प्रवेश गर्दैछ भने त्यो समाजका लागि सुखद पक्ष हो । यस्ता मानिसहरू देशैभरि स्थानीय तहमा नेतृत्वमा आए भने देश बन्छ । देशभरि स्थानीय नेताहरूले गरेका गैरकानुनी, अनैतिक तथा घिनलाग्दा हर्कतहरू हेर्दा लाग्छ कि नेता हुनका लागि शिक्षा, सेवा र अध्यात्म बुझेको हुनुपर्ने शर्त राख्नै पर्छ कि जस्तो भइरहेको छ ।
तर, विस्तारै राजनीतिक दलहरू र जनताले डोरप्रसाद आचार्यजस्ता नेताहरूलाई सम्मान गर्दै अवसर दिनेछन् भन्ने आशा र विश्वास गर्न सकिन्छ ।