२० चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किंएका छन् ।
आइतबार विहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गरेका देउवाले बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास गरेका थिए । बनारसबाट चार बजे नयाँदिल्ली हुँदै उनी साँझ काठमाडौं आइपुगेका हुन् ।
प्रधानमन्त्री देउवाले स्वदेश फर्किंएसंगै गृहमन्त्री बालकृष्ण खाणलाई दिइएकाे कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वतः खोसिएको छ ।
आफ्नो अनुपस्थितिमा प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी देउवाले सिफारिस गरे अनुसार गृहमन्त्री खाणलाई कार्यवाहक जिम्मेवारी तोकिएको थियो । प्रधानमन्त्री नेपाल आए लगतै ३ दिनसम्म सम्हालेका कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारीबाट खाण हटेका छन् । यद्यपी खाण गृहमन्त्रीको जिम्मेवारीमा भने रहिरहनेछन् ।
यस्तै देउवाले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
खड्कालाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि कार्यवाहक सभापतिको पद दिइएको थियो । देउवा भारतबाट फर्किएसंगै खड्काको कार्यवाहक जिम्मेवारी पनि स्वतः हटेकाे छ ।
देउवाको भारत भ्रमणमा पत्नी आरजुसहित परराष्टमन्त्री नारायण खड्का, स्वास्थमन्त्री मन्त्री विरोध खतिवडा लगायत ५० जनाको टोली भारत गएको थियो ।