काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि सुरू हुँदैछ। सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो। अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्तबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले बताए।
हालसम्म व्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन्। उनका अनुसार रेञ्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ।
प्रवक्ता सिल्वालले भने, ’यसपटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गतेसम्म रेञ्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेञ्जर तालिम केन्द्र नगरकोटामा सञ्चालन हुनेछ।’
संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हुँदैछन्। तालिममा द्वन्द्वका समयमा मानव अधिकार एवं कानुनको परिपालना, जंगल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरू विषयमा समेत व्यवहारिक अभ्यास र ज्ञान दिइनेछ।
यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ। परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतमा सञ्चालन भएको उक्त तालिम फिल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेछ।
अमेरिकाले विश्वका विभिन्न देशसँग यस किसिमका संयुक्त अभ्यास गर्दै आएको छ। दुई साताअघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबीच समेत संयुक्त तालिम सञ्चालन भएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।