सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

दुई देशका प्रधानमन्त्रीद्वारा जनकपुर–जयनगर रेल उद्घाटन


  • शनिबार, चैत्र १९ २०७८
7.1K
SHARES

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार भर्चुअल माध्यमबाट एकीकृत रेलसेवा उद्घाटन गरेका छन्।
हैदराबाद हाउसमा द्विपक्षीय वार्तापछि जनकपुर–जयनगर रेलसेवा उद्घाटन गरेका हुन्।

उद्घाटनपछि रेल जयनगरबाट जनकपुरका लागि प्रस्थान गरेकाे छ। यो रेल प्रत्येक स्टेसनमा रोकिँदै आउने छ।

सो अवसरमा जनकपुर रेल्वे स्टेसनमा विशेष कार्यक्रम राखिएको छ। कार्यक्रमलाई लक्ष्य गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव पनि जनकपुर आएकी छन्। जनकपुर रेल्वे स्टेसनमा रेल आएपछि मन्त्री यादव त्यसमा चढेर कुर्था स्टेसनसम्म पुग्ने छिन्।

फर्किने बेला जनकपुर रेल्व स्टेसनमा आएर एकछिन रोकिने छ। त्यहाँ केही बेरको कार्यक्रमपश्चात् रेल जयनगर फर्किने छ।

उदघाटनका अवसरमा आज यात्रुले निःशुल्क रेल चढेर यात्रा गर्न पाउने महाप्रबन्धक झाले बताए। उदघाटन पश्चात् जनकपुरधामको कुर्था स्टेसनदेखि भारत बिहारको जयनगरसम्म तत्काल ३५ किलोमिटर नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्ने छ।

जनकपुरदेखि जयनगरसम्मको भाडा प्रतिव्यक्ति समान्य सिटमा रु ९० निर्धारण गरिएको छ। एसीकोचतर्फ ३ सय ७० कायम गरिएको छ। लामो समयपछि रेल चल्ने भएपछि स्थानीय खुसी भएका छन्। यसले जनकपुरधामको व्यापार व्यवसाय फस्टाउनाका साथै पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ।

रेल चलाउन २६ जना भारतीय प्राविधिक कर्मचारी आइसकेका छन्। पहिलो चरणमा अहिले ५९ नेपाली कर्मचारी राखिएको महाप्रबन्धक झाले बताए।

भारतीय रेल्वे कम्पनी कोंकणबाट दुवै रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको थियो।२०७६ वैशाख २७ मा भारत सरकारसँग रेल खरिदसम्बन्धी सम्झौता भएको थियो।

२०७७ असोज २ गते नेपाल भित्र्याइएका दुई सेट रेल सञ्चालन नहुँदा लामो समयसम्म इनर्वा स्टेसनमा त्रिपालले छोपेर थन्क्याइएको थियो।

उद्घाटन नहुँदा जनकपुर जयनगर रेल फागुन महिनाभर दिनमा एकपटक यात्रु बिनै जनकपुरबाट जयनगर ‘ड्रायरन’ गरेको थियो।

चल्ने निश्चित नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर यात्रुबिना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चलाउने गरिएको छ।

रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन। केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा