काठमाडौं – शुक्रबार र शनिबार रिफ्रेस हुनका लागि चन्द्रागिरी जानेको घुँइचो लाग्ने गरेको छ । काठमाडौंबाट नजिकै, व्यवस्थित र सरल भएकाले धेरैको रोजाइको गन्तव्य बनेको छ चन्द्रागिरी । तर चन्द्रागिरी हिल्सले संचालन गरेको चन्द्रागिरी केबलकारको कमजोरीका कारण सातो जाने गरेको छ ।
मंगलबार दिउसो सार्वजनिक भएको एउटा घटनाले केवलकार चढ्न जानेहरु सचेतमात्र होइन् त्रसित हुने अवस्था आएको हो । यात्रा गरिरहेका कारहरु अचानक रोकिएपछि कोकोहोलो नै मच्चिएको थियो । अचानक रोकिएका कारण तीन घण्टापछि खुलेकाे थियाे ।
थानकोट प्रहरीका अनुसार केबल कारमा रोकिएकाहरुको उद्धारका लागि प्रहरी नायब उपरीक्षकको कमाण्डमा २ जना चिकित्सक र नर्सहरुसहितको टोली घटनास्थल पुगेको थियो । रोकिन पुगेका ३७ जनालाई केबलकारहरुबाट फर्काइएको थियो ।
थानकोट प्रहरीका डीएसपी डिल्लीनारायण पाण्डेले ती ३७ जना चढेका कारहरु जेनेरेटरको बिजुली चलाएर फर्काउँदा एउटा कार फर्किने गति ज्यादै सुस्त भएकोले ३० मिनेट लागेको जानकारी दिए । उनहरुको इमर्जेन्सि उद्धार गरिए पनि जेनेरेटरमा समस्या देखिएपछि केही समय केवुलकार संचालनमा अबरोध आएको थियो ।
दिउँसो करिव ३ बजे प्राविधिक गडवडीका कारण केवुलकार संचालनमा समस्या भएको भए पनि हाल पुन संचालन भइसकेको चन्द्रागिरी हिल्सले जनाएको छ । केवुल कार बन्द हुँदा चन्द्रागिरी डाँडामा करिव ४ सय जना रहेको कम्पनीको भनाई छ ।
मर्मतसम्भार समय–समयमा गर्नुपर्नेमा त्यसलाई ख्याल नगर्दा यात्रु कारमै झुण्डिएर बस्नुपर्ने र निसास्सिने अवस्था आएको भन्दै पीडितहरुले केबलकारको निगरानीमा सरकारले ध्यान दिनुपर्ने खाँचो औंल्याएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।