शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चुनावको मुखैमा फुट्यो माओवादी


  • बिहिबार, चैत्र १७ २०७८
10.3K
SHARES

काठमाडौं – चुनावको मुखैमा माओवादी फुटेको छ। फुटपछि नयाँ मोर्चाको घोषणा गर्दै निर्वाचनमा केन्द्रीत हुने भएको छ ।

मोहन वैद्यले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी फुटेको हो । पार्टीले निर्वाचन बहिष्कार गर्ने भएपछि पार्टीबाट विद्रोह गर्दै युवा, विद्यार्थीहरुले संयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन्। क्रान्तिकारी माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै पार्टीका युवा तथा विद्यार्थी नेताहरुले सो पार्टी परित्याग गरेका हुन्।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा संयुक्त समाजवादी मोर्चाको घोषणा गरिएको हो।

पार्टीले निर्वाचनलाई बहिष्कार उपयोग र फेरी बहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले पार्टी परित्याग गर्नुपरेको संयुक्त समाजवादी मोर्चाका अध्यक्ष भण्डारीले बताए। उनले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले तत्कालिन माओवादी पार्टीबाट विभाजन हुनुको औचित्य पुष्टि गर्न नसकेको उल्लेख गरे। उनले मोहन वैद्यको नेतृत्वमा समाजवादी क्रान्ति पुरा गर्न सम्भव नभएकाले युवाहरुले विद्रोह गरेको पनि बताए।

उनले नवगठित मोर्चा आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भाग लिने बताए। तत्काल आफूहरुको मोर्चा निर्वाचन आयोगमा दर्ता हुन नसक्ने भएकाले अन्य पार्टीको निर्वाचन चिन्हमार्फत निर्वाचनमा जाने अध्यक्ष भण्डारीले बताए।

मोर्चाले शान्तिपूर्ण रुपमा समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडी बढाउने उनले बताए। मोर्चाले १५ दिन भित्रमा राष्ट्रिय सम्मेलनको आयोजना गर्ने जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा