शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै


  • शुक्रबार, चैत्र ११ २०७८
13.1K
SHARES

चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणमा विदेशमन्त्री वाङ तीन दिने भ्रमणका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। पाकिस्तानबाट आफ्नो भ्रमण सुरु गरेका वाङ अफगानिस्तान हुँदै बिहीबार भारत पुगेका छन्। उनी भारतबाट आज नेपाल आउन लागेका हुन्।
नेपाल बसाइको क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), परराष्ट्रमन्त्री खड्कालगायत शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् ।

परराष्ट्रमन्त्री डा. खड्का र यीबीच शनिबार औपचारिक भेटवार्ता हुनेछ। त्यस क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गत सम्झौता भएका परियोजना र त्यसको प्रगति विवरणबारे छलफल हुनेछ। नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. खड्का र चीनका तर्फबाट चिनियाँ विदेशमन्त्री यीले बैठकको नेतृत्व गर्नेछन्।

बीआरआईअन्तर्गत नौवटा परियोजना छन्। यीमध्ये कुनै पनि परियोजना प्रभावकारी ढंगले अघि बढेका छैनन्। नेपाल सरकारले परियोजना कार्यान्वयनमा उदासीनता देखाएको भन्दै चीन सशंकित छ। राष्ट्रपति भण्डारीले केही दिनअघि चीन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’लाई अन्तर्वार्ता दिँदै बीआरआईअन्तर्गतका परियोजना अपेक्षित रूपले अघि बढ्न नसकेकोप्रति दुःख व्यक्त गरेकी थिइन्। चीनले नौ परियोजनामध्ये केरुङ–काठमाडौं रेलमार्गलाई प्रतिष्ठाको विषय बनाएको छ। सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि परियोजनाहरू अघि बढ्न नसक्नुमा बीआरआईका परियोजनामाथि ‘भूराजनीति प्रभाव’परेको हुन सक्ने विज्ञले बताउन थालेका छन्।

अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछिको परिवर्तित भूराजनीतिक र त्यसले सिर्जना गर्न सक्ने सम्भावित सुरक्षा अवस्था बुझ्न चिनियाँ विदेशमन्त्री वाङ काठमाडौं आउन लागेका हुन्। एमसीसी आफूविरुद्ध भएको चिनियाँहरूको बुझाइ छ। चिनियाँ राष्ट्रपति सी जिङपिङले एमसीसी अनुमोदन हुनुअगावै नेपालमा वाङको भ्रमण गराउन चाहेका थिए। तर त्यति बेला सफल हुन सकेन। वाङको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा