शनिबार, भाद्र २० २०८३
ताजा अपडेट

स्थानीय तहको निर्वाचनमा सबै तह कांग्रेसमय हुन्छ : प्रवक्ता महत


  • बुधबार, चैत्र ९ २०७८
8.6K
SHARES

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको बताएका छन् । उनले पार्टीको धुलिखेल नगर समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔं, कांग्रेस जिताऔं अभियान’ द्वारा कांग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताए।

‘कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब गुटउपगुट अन्त्य हुनेमा विश्वस्त छु,’ पूर्वमन्त्रीसमेत रहेका महतले भने। उनले आगामी स्थानीय तहको निर्वाचनमा सबै तह कांग्रेसमय हुने दाबी  गरे। उनले भने, ‘स्थानीय तहमा सबै निकाय जित्नेछौँ, सोही आधारमा संघ र प्रदेश निर्वाचनमा पनि पूर्ण सफलता मिल्नेछ ।’

प्रवक्ता महतले कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यता बोकेर हिँडेको बताउँदै विधिको शासनलाई पूर्णरुपमा स्थापित गर्नुपर्ने दायित्वसमेत आफूहरुमा रहेको उल्लेख गरे । ‘कांग्रेस भित्रका आन्तरिक मनमुटाव त्याग्दै पार्टीमा नवप्रवेशीलाई नयाँ–पुराना नभनी जिम्मेवारी दिएर सँगसँगै जानुपर्छ, यसबाट मात्रै पार्टीले बहुमत प्राप्त गर्दछ,’ उनले भने । पार्टी सत्तामा हुँदा र नहुँदा एउटै कुरा गर्ने र सर्वदा सत्यको पक्षमा उभिने कांग्रेस मात्रै रहेको उनले दाबी गरे।

कांग्रेसको एकमहिने अभियानअन्तर्गत वडा, गाउँ/नगर समितिले आपसी सहकार्य गरी हरेक नागरिकको घरमा पुगेर उनीहरुको गुनासा तथा अपेक्षा धर्यतापूर्वक सुन्न र भएका दुविधाको निराकरण गर्न महतले नेता कार्यकर्तालाई आग्रह गरे।

सो अवसरमा धुलिखेल नगरस्थित नेकपा (एमाले) लगायत दलका दर्जन जिल्लास्तरीय नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा