शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पुटिन र जेलेन्स्कीबीच वार्ता गर्ने बेला किन भएको छैन् ? रुसले बतायो कारण !


  • मंगलबार, चैत्र ८ २०७८
15.5K
SHARES

फाइल तस्विर

एजेन्सी । रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको रुसी राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी गरे ।

केही दिन अगाडि दुई देशका राष्ट्रपति बीच कुराकानी हुनसक्ने बताउनु भएका पेस्कोभले तर अहिले नभई अलि ढिला मात्रै कुराकानी हुनसक्ने स्पष्ट पारेका हुन् ।

उनीहरूका बीचमा वार्ता हुनेगरी कुनै घटनाक्रम विकास भएको र त्यस्तो परिपक्व वातावरण पनि बनिनसकेको उनको भनाइ छ । ‘दुई देशका राष्ट्रपतिका बीचमा शान्ति वार्ता हुनका लागि अहिले पृष्ठभूमि तयार भइसकेको छैन’ प्रवक्ता पेस्कोभले सोमबार भने ।

शीर्ष तहको वार्ता हुनका लागि घटनाक्रमले एउटा मोड लिइसकेको हुनुपर्ने र पर्याप्त गृहकार्य पनि हुनुपर्ने उल्लेख गर्दै उनले ती केही पनि नभएको जानकारी दिए ।

वार्तामा के–के विषयमा कसरी सहमति हुनसक्छ भन्ने स्पष्ट सङ्केत नदेखिएकाले अहिले नै वार्ता गर्नु सान्दर्भिक नहुने उनको भनाइ छ । गत फेब्रअरी २५ देखि रुसले युक्रेनमाथि आक्रमण गरेपछि दुवै देशका प्रतिनिधिमण्डलका बीचमा पटक पटक वार्ता भए पनि निकास निस्कन सकेको छैन ।

विश्व समुदायले पनि दुवै देशका शीर्ष नेताहरूलाई तत्काल वार्तामार्फत निकास निकाल्न र युद्ध रोक्न आग्रह गर्दै आएका छन् । यता चीनले युक्रेनमा हमला गरिरहेको रुसलाई हतियार एवं गोला-बारुद नदिने बताएको छ ।

अमेरिकाका लागि चिनियाँ राजुदूत छिङ गेङले युक्रेनको युद्धमा रुसलाई सहयोग नगर्ने प्रस्ट पारेका हुन् । राजदूत छिङ गेङले रुसमा हतियार र गोला बारुद नपठाउने बताएको बीबीसीले जनाएको हो । बेइजिङले जारी संकटलाई मत्थर पार्न सबै उपाय अपनाउने पनि ग्याङको भनाइ थियो ।

त्यस्तै, गेङले अमेरिकी समाचार माध्यम सीबीएससँग कुराकानी गर्दै पश्चिमी मुलुकले रुसको निन्दा गरेर संकट समाधान नहुने र समाधानका लागि असल कुटनीतिको खाँचो रहेको पनि बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनफिङलाई रुसको समर्थन गरे परिणाम भोग्नु पर्ने चेतावनी दिएलगत्तै राजदूत गेङको अभिव्यक्ति आएको हो ।

गत हप्ता चीन रुसलाई हतियार पठाउन चीन तयार रहेको भन्ने समाचार आएको थियो । तर चीनले उक्त समाचारको खण्डन गर्दै त्यसलाई ‘कुप्रचार’ भनिसकेको छ । तर उसले युक्रेनमा हमला गरेको विषयमा रुसको हालसम्म निन्दा गरेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा