सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

धर्मनिरपेक्षताको कारण संस्कार मासियो, हिन्दु धर्म सन्सरकै उत्कृष्ट धर्म हो : पूर्वप्रधानन्यायाधीश पराजुली


  • आइतबार, चैत्र ६ २०७८
8.4K
SHARES

फाइल तस्विर

पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले धर्मनिरपेक्षताको कारण हाम्रो संस्कार मासिएको बताएका छन् । गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्मांगद कटवालको संयोजकत्वमा सुरु गरिएको अभियान अन्तर्गत शनिवार राष्ट्रिय सभागृहमा आयोजना भएको गोष्ठीमा बोल्दै उक्त अभिव्यक्ति दिएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानन्यायाधीश पराजुली सहभागी थिए । उनले धर्मनिरपेक्षताको चर्को विरोध मात्रै गरेनन्, राजनीतिक दलका नेताहरुलाई लोभी–पापीको संज्ञासमेत दिए ।

धर्मनिरपेक्षताबाट हिन्दू धर्म, संस्कार र संस्कृति मासिंदै गएको भन्दै उनले त्यो नचाहिने बताए । कार्यक्रममा उनले भने, ‘हामी कतैकतै थिचिएका छौं, कतैकतै मिचिएका छौं । कतैकतै अनुचित लोभमा फसेका छौं, कतैकतै लोभी–पापी पनि भएका छौं । त्यसको जग संविधानको धर्मनिरपेक्षता भन्ने शब्दबाट यसलाई अरु मुखरित गरिदिएको छ ।’

उनले थपे, ‘धर्मनिरपेक्षताको कारणबाट हाम्रो संस्कार मासिएको छ, हाम्रो संस्कृति मासिएको छ । हामीले पालना गरेका हाम्रा रितिरिवाजहरु मिचिएका छन्, त्यो हामीलाई चाहिंदैन ।’

यो कुरा गर्दा सरकारबाट पाइरहेको पेन्सन पनि छोड्न परे पनि आफू तयार रहेको उनले बताए । हिन्दू धर्म पवित्र आत्माहरुको पुञ्ज भएको बताउँदै उनले भने, ‘पेन्सन छोड्दिन तयार छु तर म हिन्दू धर्म र संस्कार छोड्न सक्दिनँ ।’

अमेरिकी उपराष्ट्रपतिले पनि हिन्दू धर्मग्रन्थ छोएर शपथ ग्रहण गरेको सुनाउँदै उनले अगाडि भने, ‘संसारमा हिन्दू धर्मभन्दा ठूलो, यो भन्दा पुरानो, यो भन्दा शुद्ध र योभन्दा असल चरित्र, संस्कार छैन । यो मेरो ग्यारेन्टी हो ।’

नेपालका उच्च तहमा रहेकाहरुले विगतमा हरिवंश पुराणलाई हातमा लिएर शपथ ग्रहण गर्ने गरेको बताउँदै उनले फेरि पनि त्यस्तै गर्नुपर्ने धारणा राखे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा