एजेन्सी – यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि छ शर्त अगाडि सारेका छन् । उनले त्यसलाई यूक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका छ विषय भन्ने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उनले विहीबार राष्ट्रका नाममा सम्वोधन गर्दै भने, “रूससँगको शान्ति वार्ताका बेला सम्वोधन हुनुपर्ने मेरा प्राथमिकता छ विषय छन् ।” उनका अनुसार रूसले युद्धको अन्त्य हुनुपर्ने कुरालाई यूक्रेनले पहिलो शर्तका रूपमा राख्नेछ ।
त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधिनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनस्र्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने कुरालाई पनि उनले प्रमुख शर्तको रूपमा राखेका थिए ।
रूसले यूक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा वार्ता सुरु भएको थियो । पटक पटक भएको वार्ता परिणाममूखी हुन भने सकेको छैन । वार्ताको शिलशिला भने जारी नै रहेको छ । पछिल्लो वार्ता गत सोमबार चौथो चरणमा भएको थियो ।
सो वार्ता भिडियोमार्फत् भएको थियो । त्यसको दुई दिनपछि यूक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पुडोल्याकले रूसी राष्ट्रपतिसँग यूक्रेनी राष्ट्रपतिले नै सिधै चाडै वार्ता गर्ने सम्भावना रहेको जानकारी दिएका थिए ।
गत शुक्रबार रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी र युक्रेनी राष्ट्रपतिबीचमा वार्ता सम्भव रहेको उल्लेख गरेका थिए । दुवै पक्षबाट राष्ट्रपतिस्तरमा वार्ताको सम्भावना देखाइरहेका बेला यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले छ शर्त अगाडि सारेका हुन् । रूस र यूक्रेनबीचको युद्धकै विषयमा बिहीबार नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको छ ।
बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे गरी छ देशको अनुरोधपछि बैठक बोलाइएको हो । यस्तै यता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन्।
बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्। दुई राष्ट्रपतिबीच भएको संवादबारे मैले एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग कुराकानी गरेको छु।
पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन समूहमा कालिन पनि थिए। उनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्।
कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन। तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन्। पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेको जस्तो देखाउने खालका छन्। युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस्।
युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ।यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए।
तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ। नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ।