राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनको चुनावी कमाण्डर अभिनेत्री रेखा थापालाई तोकेको छ। राप्रपाले स्थानीय तहको निर्वाचन तयारीका लागि देशभर केन्द्रीय प्रतिनिधि खटाएको हो ।
बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उम्मेदवार छनोट, विभिन्न अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। केन्द्रीय सदस्यसमेत रहेकी थापाले चितवनको कमाण्ड सम्हाल्दै चुनावी प्रचारमा होमिने छिन्।
त्यसैगरी एमाले अध्यक्ष केपी ओली एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै गृहजिल्ला झापाको जिम्मेवारी उपाध्यक्ष विक्रम पाण्डेलाई दिइएको छ। चितवनमा प्रचण्डलाई चुनौती दिने पाण्डेले ओलीको प्रभाव रहेको झापामा राप्रपाको पक्षमा माहोल सिर्जना गर्नेछन्।
प्रवक्ता ज्ञानेन्द्र शाही कालिकोटमा खटिनेछन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रेम बलायरलाई खटाइएको छ। माधव नेपालको गृहजिल्ला रौतहटमा रामप्रताप साह भोलालाई खटाइएको छ।
स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जनजागरण, आफ्नो टोलमा पुगौं, घरदैलो अभियान र जनताको माझमा राप्रपा कार्यक्रम सञ्चालन गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार चैत २८ गते देशका सबै जिल्लाका सदरमुकाममा एकैदिन जनताको माझमा राप्रपा, घरदैलो अभियानको शुभारम्भ गरिनेछ। जिल्लाका सदरमुकाममा गरिने शुभारम्भ कार्यक्रम गर्दा साना ठूला आमसभा, कोणसभा गरिनेछ।