काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका नेता भीम रावलको दिमाग खुस्किएको संज्ञा दिएका छन् । सोमबार नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले आफैले गरेको निर्णयमा विरोध गरेको भन्दै दिमाग खस्किएको संज्ञा दिएका हुन् ।
देउवाले रावल आफैं मन्त्रिपरिषदमा रहँदा एमसीसी परियोजना पास गरेको तर अहिले आएरमात्र विरोध गरेको भन्दै आक्रोश पोखेका हुन् । उनले भने, ‘रावल रक्षामन्त्री भएको बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा ल्याएको हो, अहिले विरोध गरेर दुईजिब्रे कुरा गर्ने, त्यसबेला राजीनामा किन नगरेको ? त्यसबेला ‘दिमाग खुस्केको थियो ।’
भीम रावलले देउवालाई चोटिलो जवाफ फर्काएका छन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत चोटिलो जवाफ फर्काएका हुन् ।
रावलले ट्वीटरमा आफू केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उपप्रम र रक्षा मन्त्री भएको उल्लेख गर्दै ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला आफू मन्त्री नभएको बताए ।
‘अतः मेरो मन्त्रिपरिषद्मा सहमति रहेको भन्ने कुरै रहेन। यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहीत विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ,’ उनले भनेका छन् ।
एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानलाई आफूले तथ्यगतरूपमा सार्वजनिक गर्दा देउवा आक्रोशित भएको पनि उनको भनाइ छ ।
‘किन रावललाई मात्र टाउको दुख्छ’ भन्ने देउवाको प्रश्नमा जवाफ फर्काउँदै रावलले भनेका छन्, ‘नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने मेरो चरित्र होइन् ।’
उनले अगाडि लेखेका छन्, ‘संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर टाउको दुखेको हो।’
रावलले देउवालाई थप वहस गर्ने इच्छा भए आफू तयार भएको पनि बताएका छन् ।