शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माधव नेपालसहित १४ सांसदको मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ


  • आइतबार, फाल्गुन २९ २०७८
15.4K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटको सुनुवाई चैत २० गते हुने भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेका हुन् ।

पार्टीको नीति र निर्देशन विपरीत कामकारवाही गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालसहित १४ सांसदमाथि कारवाही गरेका थिए । तर कारवाही हुँदा माधव कुमार नेपालले पार्टी विभाजन गरी एकीकृत समाजवादी पार्टी निर्माण गरिसकेको भन्दै पार्टी विभाजनपछि आएको कारवाहीलाई मान्यता दिन नसक्ने भन्दै सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुलाई सांसदको मान्यता दिएका थिए ।

आफूले कारवाही गरेका १४ सांसदलाई फरक पार्टीमा सांसदको मान्यता दिएको, कारवाहीपछि नै निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टी दर्ता गरेको लगायतका विषयलाई लिएर ओली सर्वोच्च अदालतमा पुगेका थिए । ओलीको यो मुद्दासँगै लुम्बिनी प्रदेश सभाका दुई सांसदलाई कारवाही गरिएको पत्र कार्यान्वयनमा नगएको लगायतका मुद्दा पनि लगाउमा राखी सुनुवाइ भइरहेको थियो ।

ओलीले दायर गरेका रिट आइतबार १२ औं पटक पेसीमा चढेको थियो । यसअघि ११ पटकसम्म चढेको पेसीमा पहिलोपटक कारण देखाउ आदेश जारी भएको थियो भने दोस्रो पटकको आदेशमा सक्कल कागजात झिकाउने आदेश भएको थियो । त्यसपछिको अधिकांश पेसी हेर्न नभ्याउनेमा परेको थियो भने फागुन १ गतेको पेसी महान्यायाधिवक्ता कार्यालयबाट स्थगित भएको थियो ।

नेकपा एमाले पार्टी विभाजन हुँदा सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक कदम चालेको र अवैध तरिकाले माधवकुमार नेपालसहित १४ सांसदको पद जोगाएको भन्दै गत भदौ १७ गते एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए । ओलीले संघीय संसदका सभामुख सापकोटासहित निर्वाचन आयोग र एमालेबाट फुटेर गएर १४ जना सांसदलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । रिटमा एमालेले कारवाही गरेका १४ जना सांसदको पद खारेज हुनुपर्ने, ती सांसदहरु आवद्ध भएको एकीकृत समाजवादी पार्टीको वैधानिकता खारेज हुनुपर्ने लगायतका माग गर्दै एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले रिट दर्ता गराएको थिए ।

आइतबारको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिएको हो । अब यो मुद्दाको अन्तिम किनारा पूर्ण सुनुवाइबाट हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा