शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसिसीबारे प्रश्न गर्ने एमाले कार्यकर्तालाई बालकोटमा गएर ‘बा’लाई सोध भन्नू : गगन


  • शुक्रबार, फाल्गुन २७ २०७८
10.5K
SHARES

फाइल तस्विर

कांग्रेसका महामन्त्री गगन थापाले एमसिसी विषयमा प्रश्न गर्ने एमालेका कार्यकर्तालाई ‘बालकोटमा गएर बालाई सोध’ भन्ने जवाफ दिन निर्देशन दिएका छन्।

नेपाली कांग्रेस चितवनको नवनिर्वाचित समितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले जिल्लामा एमसिसीको विषयमा प्रश्न उठाउने माओवादी कार्यकर्तालाई खुमलटारमा बालाई सोध भनेर जहाजको टिकट काटिदिनुपर्ने बताए।

एमसिसी पास हुनेबित्तिकै अमेरिकाबाट सेना आउँछ भन्नेलाई घर-घरमा गएर ‘सेना खोइ’ भनेर सोध्न उनले कार्यकर्तालाई आग्रह गरे। कम्युनिष्ट पार्टीहरूले जनतामा भ्रम छरेर उत्तेजना र प्रोपोगाण्डाको राजनीति गरिरहेको आरोप उनले लगाए।

‘कांग्रेसका साथीहरूले अब मैदान छाड्ने होइन। एमालेका साथीले बढी बोले भने प्रस्ट भन्ने- हामीसँग बढी बोल्ने होइन।चितवनबाट टिकट काटिदिने, बसमा हालेर काठमाडौं पठाउने, त्यहाँबाट सरासर बालकोट जा भन्ने, त्यहाँ गएर आफ्नो बालाई सोध भन्ने,’ उनले भने, ‘माओवादीका साथीले बढी बोले भने जहाजको टिकट काटिदिए पनि हुन्छ। काठमाडौं खुमलटार गएर बालाई सोध भन्नु हिजो सम्झौता किन गरेको भनेर।’

उनले उनीहरूलाई नेपाली कांग्रेसले कुनै जवाफ दिनु आवश्यक नरहेको बताए।  बरू उनीहरूले किन भ्रम छरे भनेर नेपाली कांग्रेसलाई जवाफ दिनुपर्ने थापाले बताए।

‘तर जनतालाई जवाफ दिनुपर्छ। जनता कांग्रेस, एमाले, माओवादी कोही होइन, जनता जनता हुन्,’ उनले भने, ‘जनतामा छरिएको भ्रमलाई हामीले चिर्नुपर्छ।’ उनले जनतामा भ्रम छरेर प्रोपोगाण्डा गर्ने कम्युनिष्ट प्रवृत्तिको बारेमा जनतालाई बताउनुपर्ने बताए।

‘प्रोपोगाण्ड गर्ने मेसिनरी प्रयोग भएको छ। मुठी कसेर अस्पताल मागेर बनाउनुहुँदैन भन्ने नेता भारत र सिंगापुर गएर उपचार गर्छन्। विद्यालय मागेर बनाउने होइन भन्छन् तर छोराछोरी अमेरिका, बेलायत पढ्न पठाएको कुरा जनतालाई भन्दैनन्,’ उनले भने, ‘जनतालाई भ्रम दिएर उत्तेजित बनाइरहेको छ। अब जे बोले पनि हुन्छ भन्ने दिन गए। कांग्रेस बोल्छ, पढ्छ। यो प्रवृत्तिलाई चिर्छ।’

उनले कुनै देशबाट जति सहयोग लिए पनि हुने, कुनै देशबाट सित्तैमा दिए पनि नलिने भन्ने नहुने बताए। नेपाली कांग्रेसको चाहना अरू देशबाट पनि सहयोग ल्याएर देशको विकास गर्ने रहेको उनले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा