नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश जोगाउने एक मात्र पार्टी आफुले नेतृत्व गरिरहेको माओवादी पार्टी भएको बताएका छन् । गणतन्त्रका सूत्रधार समेत रहेका प्रचण्डको मुलुकमा गणतन्त्र आउनुमा उल्लेखनीय भूमिका छ । तर पछिल्ला राजनीतिक घटनाक्रममा दिनानुदिन प्रचण्ड अनपपुलर बन्दै गएको आभास हुन थालेको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रममा उनले बेला बेला परिवर्तनका मुद्दा उल्टाउने र फेरि पुरानै ठाउँमा लिएर देशलाई डुबाउन खोज्नेविरुद्ध माओवादी सचेत भएको बताए ।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओली प्रवृत्तिविरुद्ध आफ्नो लडाइँ रहेको बताए । हामीले सबै स्वार्थ त्याग गर्न तयार भएर नै वर्तमान अवस्थामा सफलता हासिल भएको उनको भनाइ थियो । उनले आगामी निर्वाचनमा ढुक्क भएर लाग्न आग्रह गरे । ‘कर्णाली भनेको माओवादीको आधार इलाका हो’, उनले भने, ‘तपाईंहरु आगामी निर्वाचनमा पहिलो शक्तिका रूपमा स्थापित हुने गरेर मैदानमा होमिनुस् ।’
उनले एमसीसीको विषयमा माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताए । एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको उनको भनाइ थियो । उनले भने, ‘हामीले अन्ततः केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरममार्फत निष्कर्ष निकाल्ने भनेर केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेपछि एमसीसीसम्बन्धी सम्पूर्ण विषयको समाधान भएको छ ।’
अहिलेको सत्ता गठबन्धन स्थानीय चुनावसम्मा जाने र सकेसम्म अझै परसम्म लैजाने योजनासमेत रहेको उनको भनाइ थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।