आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

प्रचण्डसँग छेपारो पनि लजाउँछ: महासचिव पोख्रेल


  • सोमबार, फाल्गुन २३ २०७८
10K
SHARES

फाइल तस्विर

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वभाव देखेर छेपारो पनि लजाउने आरोप लगाएका छन्। प्रेस चौतारी नेपाल धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले प्रचण्डले छिनछिनमा बोली फेर्ने शैली छेपारोले रंग फेरेभन्दा धेरै रहेको आरोप लगाए।

एमसिसीका विषयमा महासचिव पोख्रेलले आफ्नो पार्टीको नेतृत्वको सरकारले संसद्‌मा टेबल गरेको सभामुखले रोकेको र अहिले प्रश्न उठेपछि टेबल गरेको आरोप लगाएका छन्। एमसिसी प्रकरणमा सरकार कूटनीतिक रूपमा अपरिपक्कता देखिएको पनि बताए।

एमसिसी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्राचार गरेको विषय केटाकेटीपन रहेको आरोप लगाए। उनले संसद्‌बाट पारित भएको एमसिसी राष्ट्रिय हितका पक्षमा कार्यान्वयन हुनुपर्ने बताए।

एक अर्को प्रसंगमा महासचिव पोख्रेलले सरकार निर्वाचनबाट भाग्न खोजेको बताउँदै तोकिएको मिति वैशाख ३० गते नै हुनुपर्ने र समयमै प्रदेश र संघीय चुनाव हुनुपर्ने बताए। उनले सत्ता गठबन्धनले चुनाव सार्ने बहाना प्रधानन्यायाधीशमाथि महाभियोग दर्ता गरेको आरोप लगाए। आगामी निर्वाचन एमालेले सजिलै जित्ने बताए।

अदालतभित्र भएको समस्या व्यक्तिमाथि महाभियोग लगाएर हल नहुने उनको भनाइ छ। अध्यादेश पारित नहुने उनले दाबी गरे। बोलेको सबै समय सरकार र संसद्का विरुद्ध बोलेका पोख्रेलले सरकार, प्रतिनिधिसभा र अदालत गैरकानुनी रूपमा अघि बढेको आरोप लगाए।

प्रदेशको नामकरणको विषयमा महासचिव पोख्रेलले कोशी प्रदेश सभ्यतासँग जोडिएको हुनाले कोशी प्रदेश हुनुपर्ने बताए। ओली नेतृत्वको सरकारले गरेका कामलाई अवैधानिक भनेर आरोप लगाएका प्रचण्ड, माधव नेपालले संवैधानिक भन्दै त्यही काम गर्न लागेको बताए।

उनले एमालेले कारबाही गरेका गैरसांसद संसद्‌मा नभएको खण्डमा एमालेले सदन चल्न दिने बताएका छन्। सभामुखले दोहोरो भूमिका खेलेकाले गल्ती सच्याउनुपर्ने वा बाटो छोड्नुपर्ने उनको भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा