सरकारले अब संसद चलायमान हुने बताएको छ । माधव नेपालसहित १४ सांसद पदमुक्त र सभामुखको राजीनामा माग्दै ६ महिनायता निरन्तर अवरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढाउन तयार भएपछि सरकारले संसद सूचारु हुने विश्वास लिएको हो।
एमालेकै सहयोगमा जबरामाथि छानविन गर्न प्रतिनिधिसभाबाट महाभियोग सिफारिस समिति गठनपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदीय प्रक्रिया सुरु हुने वातावरण बनेको बताए।
‘एमाले संसदीय प्रक्रियामा आएको छ। यो सकारात्मक हो। महाभियोग सिफारिस समिति सदस्यमा एमालेले नाम दिएर संसदीय प्रक्रिया सुरु भएको छ। संसद चलायमान हुन्छ भन्ने आशा गरौं,’ उनले भने ।
जरुरी विधेयक पारित हुनुपर्ने आवश्यक रहेको र त्यसमा संसद ठूलो दल एमालेले पनि छलफलमा भाग लिनुपर्ने बताए। ‘जरुरी अध्यादेशहरु, विधेयकहरु नागरिकता विधेयक छ। धेरै ठूलो जमात पीडा छ। नागरिकता नपाएको स्कुल पढ्न नपाउने जागिर खान नपाउने अवस्था छ। व्यवसाय गर्न, खाता खोल्न नपाउने अवस्था छ। अब यसलाई अगाडि बढाउ भनेर लगातार आग्रह गरिरहेका छौं,’ उनले भने।
फागुन २९ गतेको बैठकसम्म एमालेसहित सबैको सहभागिता हुने उनले विश्वास व्यक्त गरे।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।