काठमाडौं – आन्तरिकतर्फको हवाई भाडा बढेको छ । निजी क्षेत्रका सबै एयरलाइन्सहरुले भाडा बढाएका हुन् ।
बढाएको भाडा आइतबारदेखि लागु हुने छ । एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालले हवाइ इन्धनको मूल्यबृद्धिसँगै भाडा बढाएको हो ।
नेपाल आयल निगमले हवाइ इन्धन प्रतिलिटर १३६ रुपैया पुर्याउँदा १० रुपैया प्रतिलिटर बढेको आयोनले जनाएको छ ।
निगमले आन्तरिक हवाइ इन्धन ११३ रुपैयामा खरीद गरी २३ रुपैया ८ पैसा नाफा राखेर १३६ रुपैया प्रति लिटरमा विक्री गर्छ ।
आयोनले आन्तरिक उडानर्फ कम्तिमा ९० रुपैयादेखि बढीमा ५४० रुपैयासम्म बृद्धि गरेको छ । सबैभन्दा कम काठमाडौं सिमरा उडानमा बढेको छ भने बढी विराटनगर–नेपालगञ्ज रुटमा बढेको छ ।
त्यस्तै, यातायात व्यवसायीहरुले पनि गाडी भाडा बढाउन माग गरेका छन् । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको भन्दै उनीहरुले भाडा बढाउन पर्ने माग राखेका हुन् ।
सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले फेरि पेट्रोलियमको मूल्य महंगिँदा लागत उठाउन मुस्किल हुन थालिसकेको बताउँछन् ।
२७ असार २०७८ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्रीस्तरीय निर्णय गरेका थिए ।
स्थानीय स्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाउने निर्णय सम्बन्धित प्रदेश र स्थानीय तहले नै निर्णय गरिरहेका छन् ।