काठमाडौँ – नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)ले अभियोग गरेको गतिलो प्रमाण पेस भएको छ । शुक्रबार काठमाडौंबाट दमौली पुगेकी पीडित गायिका समिक्षा अधिकारिले दिएको वयाननै गलितो प्रमाणका रुपमा पेस भएको हो ।
पीडित नाबालिकाले शुक्रबार सरकारी वकिलको कार्यालयमा जाहेरीमा उल्लेख भएको व्यहोरालाई बल पुग्ने गरी बयान दिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए । उनका अनुसार पीडित आफ्नो बयानमा अडिग छिन् ।
कार्यालयले अन्य साक्षीको बयान लिइरहेको छ । पीडितका तर्फबाट पूर्वी नवलपुर प्रहरी कार्यालयमा पनि शाहविरुद्ध जबर्जस्ती करणीको उजुरी परेकाले त्यहाँ पनि सरकारी वकिलको कार्यालयमा बयान हुनेछ ।
कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले बुधबार दमौली आएर पीडितकै पक्षमा बयान दिइसकेका छन् । प्रहरीले हिरासतमा रहेका शाहसँग बयान लिए पनि उनले आरोप स्वीकार गरिसकेका छैनन् ।
उनले म्युजिक भिडियो सुटिङका क्रममा पीडितसँग एउटै घरमा बसे पनि शारीरिक सम्पर्क नभएको बयान दिएका छन् । पीडितको स्वास्थ्य परीक्षणमा भने नाबालिकाको कन्याजाली च्यातिएको प्रतिवेदन आइसकेको छ ।
अधिवक्ता राधिका खतिवडाका अनुसार बलात्कार घटनामा प्रत्यक्षदर्शी हुँदैनन् । भिडियो प्रमाण पनि हुँदैन । नाबालिकाले जाहेरीमा समर्थन गर्ने गरी बयान गरिसकेपछि अदालतमा पुगेर त्यसैलाई निरन्तरता दिइन् भने उनी नै यसको सबैभन्दा ठूलो प्रमाण हुने उनले बताइन् ।
‘बलात्कारसम्बन्धी कानुन आएपछि सर्वोच्चमा बलात्कारको मुद्दा लाखौं चले होलान्, कुनै पनि मुद्दामा अदालतले भिडियो वा प्रत्यक्षदर्शी चाहिन्छ भनेर खोजेको छैन,’ उनले भनिन्, ‘स्वयं पीडितको जाहेरी नै यसको महत्त्वपूर्ण प्रमाण हो । जाहेरीलाई समर्थन हुने गरी घटनापूर्वका प्रतिवादी र पीडितको क्रियाकलाप, घटनापश्चात्का पीडित र प्रतिवादीका समाजमा भएका क्रियाकलापलाई नै विश्लेषण गरिन्छ ।’
यो घटनामा मध्यराति १२ बजे एसएमएस गरेर कसैको कोठामा परिपक्व भएको कोही पुरुष आउँछु भन्नु नै महत्त्वपूर्ण प्रमाण भएको उनले बताइन् । प्रहरीले सार्वजनिक भएको एक अडियोलाई पनि प्रमाणका रूपमा पेस गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए । पीडित र आरोपितको बयानअनुसार अनुसन्धान अधिकारीले प्रमाण जुटाउने, पीडितलाई कागज गराउने, जाहेरीवाला (पीडितका बुबा) लाई सोधपुछ गर्ने, घटना विवरण कागजमा संलग्न भएका मानिसको भनाइलाई हेर्ने र विश्लेषण गर्ने काम गर्छन् ।
अनुसन्धान भइसकेपछि बढीमा २५ दिनभित्र अदालतमा पेस गर्नुपर्छ । शाह आइतबारदेखि अदालतबाट ७ दिन म्याद थप गरी थुनामा छन् । शनिबार बिदा भएको र अनुसन्धान नसकिएकाले आइतबार पुनः म्याद थप हुनेछ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार कुनै महिलालाई निजको सहमतिबिना र १८ वर्षमुनिकालाई सहमतिमा पनि करणी गर्न मिल्दैन । उक्त करणी बलात्कार ठहरिन्छ । जन्मदर्ताअनुसार पीडित नाबालिकाको जन्म २०६२ साउन ३ मा भएको देखिन्छ ।
२०७८ वैशाख १४ मा तनहुँको दुलेगौंडामा अन्तिम करणी हुँदा उनको उमेर १५ वर्ष ८ महिना ९ दिन छ । मुलुकी अपराध संहिता २०७४ को दफा १९ को ३ (ग) बमोजिम १४ देखि १६ वर्षसम्मका नाबालिकालाई करणी गरेको अवस्थामा १२ देखि १४ वर्षसम्मको कैद सजाय हुन्छ ।
उक्त अडियोमा शाहले भनेका छन्, ‘यदि उनी प्रेग्नेन्ट भएको भए समस्या हुन्थ्यो, बच्चा भएको भए स्विकार्ने कि नस्विकार्ने भन्ने कुरा आउँथ्यो । गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डबीच अन्डरस्ट्यान्डिङमा केही भयो होला । यति सेफ हिसाबले हुँदा पनि लास्टमा बिहे नै गर्नुपर्छ भन्न मिल्दैन । हामी जिन्दगीभरि सँगै हुन्छौं । म सधैं तिमीसँग बोल्छु, रिप्लाइ गर्छु भइहाल्यो नि ।’
आरोपितले नै सार्वजनिक गरेको अर्को अडियोमा पनि उनीहरूबीचमा शारीरिक सम्पर्क भएको र त्यसलाई मिलाउन उनीसहित अन्य साथी लागेको सार्वजनिक भएको थियो । यी प्रमाण हेर्दा १८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेकाले आरोपित कसुरदार भइसकेको अधिवक्ता खतिवडाले बताइन् ।
‘१८ वर्ष नपुगी भोट हाल्न दिइँदैन, कुन पार्टी राम्रो, कुन पार्टी नराम्रो छुट्याउन सक्दैनन्, सेवा गर्न, जागिर खान पाइँदैन, मजदुरी गराउन पाइँदैन,’ उनले भनिन्, ‘१८ वर्षभन्दा कम उमेरका बालबालिकाको त्यो प्रकारको चेतनास्तर, सामाजिक विकास र क्षमता विकास भएको हुँदैन । त्यसैले बालबालिकालाई एउटा प्रकारको र पाकालाई अर्को प्रकारको कानुन बनेको हो ।’
जाहेरीवाला एवं पीडितका बुबा यस घटनामा धेरै बोल्न चाहँदैनन् । ‘अहिले हामी पीडामा छौं,’ छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘छोरीले ठीक गरेकी छन् । उनको कदमलाई हामीले साथ दिनुपर्छ भनेर लडिरहेका छौं । न्याय मिल्ला ।’