ललितपुरको ग्वार्कोमा बिहीबार बेलुकी स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाल रहेकी छिन् ।
बिहीबार बेलुकी ७ बजे पैदल हिडिरहेकी उनलाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा राती पौने १२ बजे मृत्यु भएको हो ।
दुर्घटना पश्चात् फरार भएका स्कुटर सहित चालकको खोजी भइरहेको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।
याे पनि पढ्नुहाेस्:
अस्पतालको उपचार कक्षमै भालु पसेपछि…
जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ। गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ। राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो।
बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले बताए।
उनकाअनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति अचानक भालु पसेको हो। सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ। उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ।
उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि जथाभावी नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले बताए।
संरक्षण क्षेत्रको कार्यक्षेत्रभित्र नपर्ने भए पनि डिभिजन वन कार्यालयसँगै रहेर उद्धारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने कार्यमा सघाइरहेको यादवको भनाइ छ। चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ।