काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तीन बुँदे सहमति पछि शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्दै जनतामा आफ्नो विचार प्रबाह गरिरहेको छ । अहिले चलिरहेको संसदीय व्यवस्थाबाट देश र श्रमजिवी जनताले मुक्ती नपाउने भन्दै वैकल्पिक व्यवस्थाका लागि एकीकृत जनक्रान्तिका मार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने भन्दै संघर्ष गरिरहेको छ ।
देशभर अभियान चलाएर संगठन विस्तारमा लागेको नेकपा केही महिनायता एमसीसी विरुद्धको संघर्षमा छ । व्याख्यात्मक घोषणासहित संसदबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछि विप्लवको सक्रियता बढेको छ ।
विप्लवले एमसीसीमा असन्तुष्ट नेताहरुलाई भेटेर माहोल बनाइरहेका छन् । त्यसको सुरुवात नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबाट गरेका छन् । पार्टी विभाजनका लागि समेत तयार हुने भनेर माओवादीभित्र छुट्टै छलफल श्रेष्ठले चलाईरहेका बेला विप्लवले उनलाई भेटेर पार्टी एकताको प्रस्ताव राखेका छन् ।
पार्टीमा अन्तरसंघर्ष चर्किरहेका बेला विप्लवसँग श्रेष्ठको अंकमालले माओवादीका धेरै नेतालाई झस्काएको छ । यसअघि श्रेष्ठको असन्तुष्टिमा खासै ‘सिरियस’ नदेखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुनलगायतका नेताहरू हात्तीवनमा श्रेष्ठलाई भेट्न पुगे ।
विप्लवले बुधबार नै श्रेष्ठपछि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र प्रेम सुवालसँग भेट गरे । त्यस्तै साँझतिर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटघाट गरे ।
दौडधुपलाई विप्लवले विहीबार पनि निरन्तरता दिएका छन् । उनले बिहीबार बिहानै नेकपा (एमाले)का नेता भीम रावलसँग भेटघाट गरेका छन् । विप्लवले पछिल्ला दुई दिनमा जति पनि नेताहरु भेटे ती सबै एमसीसीका कारण आफ्नो पार्टीभित्र रुष्ट छन् ।
एमसीसीमा राष्ट्रघात भएको ठहर उनीहरुको छ । उनीहरुसँगै मोर्चाबन्दी गर्ने प्रयास विप्लवको छ । ‘देशभक्त, राष्ट्रवादी र स्वाधीनताका पक्षधरहरू एकीकृत र ध्रुवीकृत हौँ,’ प्रायः सबै भेटमा विप्लवको साथमा रहेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले फेसबुकमा लखेका छन् ।
एमसीसीविरोधी शक्तिलाई ध्रुवीकृत गरेर आन्दोलनको उठान प्रयास विप्लवले गरेका छन् । त्यसैअनुसार एमसीसीविरुद्ध खुल्लामञ्चमा भोलि सभासमेत हुँदैछ । जसमा पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता श्रेष्ठ र एमाले नेता रावलले पनि सम्बोधन गर्ने भएका छन् ।
विप्लवकै प्रयासमा उनीहरू एउटै मञ्चमा सहभागी भएर भाषण गर्न तयार भएका हुन् । विप्लवले यसअघि नै साना वामदलको एमसीसीविरोधी मोर्चा बनाएका छन् । जसमा ६ साना वाम दल र २ मोर्चा छन् ।
हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतिलगायतको पार्टी पनि सामेल छ । मोर्चामा नरहेका अन्य फार्टीका ‘बिग फिगर’ को समेत साथ लिएर शक्ति बढाउँदै लैजाने रणनीति विप्लवको देखिन्छ ।
६ राजनीतिक दल र दुईवटा मोर्चाको नेता बनेका विप्लव अहिले एमसीसी विरोधी मोर्चाको नेताका रुपमा स्थापित हुन खोज्दैछन् । यो कुराको पूर्वानुमान गरेको नेपालको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाका नेताहरुको निगरानी बढाएको छ ।
बस्ने ठाउँ, लगाउने लुगा र नियमित भेटघाट हुने आर्कहरुको बारेमा नेपाल प्रहरीको अनुसन्धान विभागले निगरानी बढाएको श्रोतको दावि छ । एमसीसी संसदबाट पास भएपनि फिल्डमा लागु गर्न नदिने उद्घोष गरेपछि सरकारले अनुसन्धान विभागलाई निगरानी बढाउन निर्देशन दिएको सुरक्षा श्रोतको भनाई छ ।
फिल्डमा समस्या आए पार्टीमाथि फेरी प्रतिबन्ध लगाउने र पार्टीका नेता कार्यकर्तालाई गिरप्तार गर्न सजिलो होस् भनेर सरकारले पूर्वतयारी गरेको जानकारहरुको भनाई छ ।